मंगलबार, असोज १, २०८१

प्रधाननमन्त्रीसँग मुख्यमन्त्रीहरु

प्रदेशलाई कहिले बनाउने बलियो ?

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औं बैठकमा मुख्यमन्त्रीहरुले प्रदेश सरकारलाई सबल नबनाई हालकै अवस्थामा चल्ने अवस्था सिर्जना भए थप जटिलता पैदा हुने धारणा राखेका थिए।
 |  सोमबार, भदौ ११, २०८०
nespernesper

रमेश लम्साल

रमेश लम्साल

सोमबार, भदौ ११, २०८०

काठमाडौं- संघीयता कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण ऐन तथा कानुनको निर्माणमा भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीहरुले चिन्ता व्यक्त गर्दै तत्काल प्रक्रिया अगाडि बढाउन र संघीयतालाई बलियो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन्। 

triton college

नागरिकलाई घरआँगनमै सहज रुपमा सेवासुविधा उपलब्ध गराउने उद्देश्यले ल्याइएको संघीय प्रणाली पनि प्रक्रियामा फस्दै गएको, महत्वपूर्ण कानुन निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै मुख्यमन्त्रीहरुले गत असारमा पोखरामा सम्पन्न राष्ट्रिय समन्वय परिषद्को बैठकले गरेका निर्णय पनि तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औं बैठकमा मुख्यमन्त्रीहरुले प्रदेश सरकरालाई सबल नबनाई र हालकै अवस्थामा चल्ने अवस्था सिर्जना भए थप जटिलता पैदा हुने धारणा राखेका थिए। 

प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउन नसक्दा प्रदेश सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै मुख्यमन्त्रीहरुले तत्काल सो ऐन कार्यान्वयनमा ल्याई प्रदेश सरकारलाई प्रहरी परिचालनको अधिकार दिन समेत माग गरे। संघीय संसद्को अघिल्लो कार्यकालमा नै पारित भएको सो ऐन कार्यान्वयन हुन सकेको छैन। 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तत्काल प्रहरी समायोजन ऐनले गरेको व्यवस्था अनुसार प्रहरी समायोजन गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए। उनले संघीय निजामति ऐन, संघीय शिक्षा ऐनलगायतका महत्वपूर्ण ऐन ल्याउन र प्रदेश सरकारलाई सबल बनाउन आग्रह गरे। 

Metro Mart
vianet

नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न अबलम्बन गरिएको प्रणालीलाई सहज र सबल बनाउन पनि महत्वपूर्ण कानुन छिटो निर्माण हुनुपर्नेमा ढिलाइ भएकोमा उनले गुनासो गरे। मुख्यमन्त्री जम्मकट्टेलले निजामति विधेयकमा राखिएका केही प्रावधानप्रति आपत्ति प्रकट गर्दै प्रदेश सरकारमार्फत नै स्थानीय तहमा प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारीको प्रबन्ध गर्न पाउनुपर्ने धारणा राखे। उनले कर्णाली प्रदेश बाहेक अरु सबै प्रदेशले प्रहरी परिचालन ऐन पारित गरी तम्तयारी अवस्थामा रहेको जानकारी दिए। 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सुरक्षा र प्रशासन बिना प्रदेश सरकार सबल हुन नसक्ने भएकाले तत्काल प्रहरी समायोजन ऐन अनुसार प्रहरी परिचालन गर्ने अधिकार प्रदान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

मुख्यमन्त्री चौधरीले संघबाट प्रदेशमा पठाइएका योजनाको स्रोत व्यवस्थापन हुन नसक्दा लामो समयदेखि आयोजना अलपत्र परेको गुनासो गरे। यस्तै उनले लुम्बिनी विकास कोष र राष्ट्रिय निकुञ्जहरुसँग पनि प्रदेश सरकारले समन्वय र सहकार्य गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। 

पाँच दश लाख रकमका योजना समेत संघीय सरकारको कार्यक्षेत्रमा राखेर संघीयतालाई विद्रुप पारिएका आपत्ति प्रकट गर्दै आगामी आर्थिक वर्षदेखि यस्ता विषयलाई तत्काल सम्बोधन गर्न मुख्यमन्त्री चौधरीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। 

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गत असारको सुरुआतको प्राकृतिक विपदका कारण आफ्नो प्रदेशमा ठूलो जनधनको क्षति भएपनि हालसम्म प्रभावितले राहत नपाएकामा गुनासो गरे। उनले कोशी प्रदेशको धरानलगायतका स्थानमा डेंगुको चरम समस्या देखिएकाले तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी उपचारको प्रबन्ध गर्न माग गरे। 

उनले डेंगुका बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको भन्दै कोरोनाकालमा निर्माण भएको आकस्मिक अस्पताललाई तत्काल प्रदेश सरकारले सञ्चालन गर्ने वातावरण मिलाइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। मुख्यमन्त्री थापाले पूर्वमा देखिएको पहिचान पक्षधरको आन्दोलनमा उठेको माग समेत सम्बोधन हुनुपर्ने माग गरे। 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मन्त्री भए पनि संघीय सरकारले साविककै बजेट ल्याइएको भन्दै आफ्नो प्रदेशमा भने यथार्थवादी बजेट ल्याएको बताए। आफ्नो प्रदेशको बजेट शतप्रतिशत कार्यान्वयन गराउने योजनाका साथ लागिपरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले प्रभावकारी रुपमा कर्मचारीको प्रबन्ध गरिदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन्। 

उनले कास्की बैठकले गरेको निर्णय तत्काल कार्यान्वयन गरी संघीयतालाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले प्रहरी समायोजन एने कार्यान्वयन गर्न तथा संघीयतासँग जोडिएका महत्वपूर्ण ऐन निर्माणलाई तत्काल गति दिनुपर्ने बताए। उनले महकाली करिडोर, गेटा मेडिकल कलेजलगायत महत्वपूर्ण आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकरण गरी गति दिनुपर्ने उल्लेख गरे। 

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशको समग्र विकासका लागि विशेष आर्थिक प्याकेजको प्रबन्ध गर्न माग गरे उनले पनि प्रहरी समायोजन ऐनलाई व्यवहारिक रुप दिई प्रदेशलाई बलियो बनाउनुपर्ने धारणा राखे। यस्तै, कर्णाली प्रदेशका हालसम्म पनि सहज रुपमा बिजुली उपलब्ध हुन नसकेको उल्लेख गर्दै निर्माणाधिन एक सय ३२ केभी क्षमताको प्रसारण लाइन शीघ्र निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन ऐन तत्काल कार्यान्वयन गर्नुपर्ने बताए। उनले कर्मचारी परिचालनमा देखिएको समस्या समाधान गर्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काम गर्नुपर्नेमा ध्यानाकर्षण गराए। बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री भने अनुपस्थित थिए।

प्रकाशित: Aug 28, 2023| 17:10 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्