काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएपछि पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई रिहा गर्न पत्नी कौशिलाले सरकारसमक्ष आग्रह गरेकी छन्। झापाको बिर्तामोड बस्दै आएकी कौशिलाले प्रेस विज्ञप्ति निकालेर पति रोगी भएकाले रिहाइ मागेकी हुन्।
पति टेकनाथलाई ‘अप्रमाणित र अवाञ्छित अभियोग लगाइएको र र शरणार्थीको स्वैच्छिक घर फिर्ती अभियानमा रहेकाको अभियान निस्तेज गराउन थुनिएको उनले आरोप लगाएकी छन्।
उनले भनेकी छन्, ‘झन्डै ३० वर्षयता शरणागत भएर नेपाल भूमिमा बस्दै आएको र शरणार्थी हकहितका निम्ति राष्ट्रिय/अन्तर्राष्ट्रिय तहमा आवाज उठाउँदै आएका नेता रिजालको अभियानलाई निस्तेज गराउन लामो समयदेखि चलखेल जारी छ। आज आएर नक्कली शरणार्थीको गिरोहलाई जोडेर नेता रिजालमाथि अप्रमाणित र अवाञ्छित अभियोगसहित पुर्पक्ष थुनामा राखिएको प्रसंग आफैंमा अन्यायपूर्ण देखिन्छ।’
नक्कली शरणार्थीको यो गिरोहबारे स्वयं रिजालले एक वर्षअघिदेखि नेपालका पूर्वप्रधानमन्त्री तथा बहालवाला मन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मिडियासहित सम्बद्ध निकायमा सप्रमाण सूचना दिँदै आएको पत्नी कौशिलाले स्मरण गराएकाी छन्।
‘यो गिरोहमा संलग्न व्यक्तिबारे गत वर्ष वैशाख अन्तिममा समेत गृह मन्त्रालयमा लिखित रूपमा जानकारी दिएको यथार्थबारे नेपाली मिडिया जगत् जानकार छ,’ उनले भनेकी छन्। ७६ वर्ष पूरा हुन लागेका र सुगर, ब्लडप्रेसरबाट ग्रसित नेता रिजालको आगत–विगत सम्झेर पनि न्यायिक सुनुवाइका लागि आग्रह गरेकी छन्।