काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारसमक्ष पेस गरिएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा आम बहस गरी छिटो सदनबाट पारित गराउन आग्रह गरेका छन्।
निर्वाचन आयोग र नेपाल कानुन समाजले आज सञ्चारकर्मीसँग गरेको छलफलमा उनले मुलुकको शासकीय सुधारका लागि निर्वाचन कानुनको सुधार अपरिहार्य भएको स्पष्ट पारे।
गत वर्ष भएका विभिन्न निर्वाचनको समीक्षा र प्राप्त सुझावलाई ध्यान दिई आयोगले एकीकृत निर्वाचन कानुनको विधेयक गत १८ असारमा निर्णय गरी गृह मन्त्रालयसमक्ष पेस गरेको थियोे।
कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका पूर्वसचिव माधव पौडेलले उक्त विधेयक पारित भए व्यापक सुधार हुने उल्लेख गर्दै निर्वाचनको सवालमा नैतिक मूल्य– मान्यतालाई पनि राजनीतिक दलले आत्मसात गर्नुपर्ने बताए। उक्त विधेयक तर्जुमा गर्न १४ पुस २०७८ मा सरकारबाट सैद्धान्तिक सहमति प्राप्त भएको थियो।