काठमाडौं- प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले आज सोमबार पूर्णता पाउने भएका छन्। आइतबार समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्तापछि ती प्रस्तावको सूची प्रकाशित भइसकेको छ। आज सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछन्।
संघीय संसद् सचिवालयका अनुसार नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको छ। एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि निर्वाचन गरिने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। उनका अनुसार आज सभापति घोषणासँगै सपथ ग्रहणको काम पनि गर्ने तयारी सचिवालयको छ।
दर्ता भएका प्रस्ताव सम्बन्धित समितिको सोमबारको बैठकमा प्रस्तावकले प्रस्तुत गर्नेछन् र समर्थकले उक्त प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ। एक मात्र प्रस्ताव दर्ता भएका समितिमा समर्थक सदस्यले बोलिसकेपछि सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्।
दुईवटा प्रस्ताव दर्ता भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि दर्ता क्रमअनुसार समर्थक सदस्यले बोलिसकेपछि दुईवटै प्रस्तावमाथि छलफल हुनेछ। त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछन्। समितिको सोमबारको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पनि प्रवक्ता गिरीले जानकारी दिए।
दशमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी छ।
संसद्को चौथो शक्ति रास्वपा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको भागवण्डामा सामेल भएन। अन्तिम समयमा रास्वपालाई पनि एउटा समिति दिन सत्तारुढ दल तयार भएका थिए। तर, रास्वपाले अस्वीकार गर्यो र एक्लै उद्योग समितिमा उम्मेदवारी दर्ता गरायो।
प्रमुख प्रतिपक्षी दल एमालेले संसद्को महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरण साहलाई उम्मेदवार बनाएको छ। यो समितिको सभापतिमा उनको मात्र उम्मेदवारी परेकाले आज निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ।
महिला समितिमा पुरुषलाई सभापतिको उम्मेदवार बनाएकोमा सांसदहरूले विरोध पनि गरेका छन्। एमालेले भने समानुपातिक र समावेशीकै आधारमा समिति सभापति चयन गरेको दाबी गरेको छ।
कुन समितिमा कसको उम्मेदवारी ?
प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भएको छ। कांग्रेसले तीनवटा समितिको सभापतिका लागि उम्मेदवारी दिएको छ। कांग्रेसका रामहरि खतिवडाले राज्य व्यवस्था समिति, डा. आरजु राणा देउवाले कृषि सहकारी तथा वातावरण समिति र सन्तोष चालिसेले अर्थ समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गरेका छन्।
एमालेका किरण साहले महिला समिति र ऋषिकेश पोखरेलले लेखा समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी, कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदी, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, स्वास्थ्य तथा शिक्षा समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपा नेपालका राजकिशोर यादवको उम्मेदवारी परेको छ।
उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापतिमा सत्तारुढ दल जनमत पार्टीका अब्दुल खान र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेको छ। उद्योग समितिबाहेक अन्य नौवटा समितिका सभापति भने निर्विरोध चयन हुने भएका छन्।