काठमाडौं- कलिलो र हँसिलो अनुहार । स्टाइलिस कपाल । भर्खर जुँगाका रेखी बसेको किशोर । कर्णप्रिय र बोल्ड स्वर । जस्तोसुकै संगीतमा पनि कर्णप्रिय स्वर दिएर नेपाल आइडलको ‘क्युट केटो’ क्रिसल कँडेलले धेरैको दर्शक–श्रोताको मन जित्न सफल भए ।
यसबाट प्रस्ट हुन्छ, उनी नेपाली सांगीतिक क्षेत्रमा केही गर्न सक्ने क्षमता भएका व्यक्ति हुन् । प्रतिस्पर्धामा सबै प्रथम हुँदैनन्, त्यसैले उनी लोकप्रिय हुँदाहुँदै पनि नेपाल आइडलको अन्तिम आठबाट बाहिरिएका छन् ।
‘म हारेर होइन, धेरै कुरा जितेर बाहिरिएको छु । नेपाल आइडलमा आउँदा मसँग केही थिएन । अहिले म थुप्रै कुरा सिकेर बाहिरिएको छु’, नेपाल आइडलका सबैभन्दा कान्छा (१७ वर्षीय) प्रतिस्पर्धी क्रिसलले प्रतिस्पर्धाबाट बाहिरिँदै गर्दा दिएको प्रतिक्रिया हो यो ।
उनले आफूलाई नेपाल आइडलले धेरै कुरा सिक्ने अवसर दिएको बताएका थिए । उनले भने, ‘नेपाल आइडलको अन्तिम आठसम्म प्रतिस्पर्धा गर्न पाउनु नै मेरा लागि ठूलो अवसर हो ।’
क्रिसलले आगामी दिनमा अझै सशक्त भएर सांगीतिक क्षेत्रमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘प्रतिस्पर्धामा एक जना बाहिरिनैपर्ने हुन्छ’, उनले भने, ‘सोही नियमअनुरूप म बाहिरिएँ । नेपाल आइडलको यो स्थानमा पुग्नु नै मेरो लागि गौरवको कुरा हो ।’
धादिङबेंसीका क्रिसल पोखरा अडिसनबाट नेपाल आइडलमा छनोट भएका थिए । उनी सानैदेखि गीतसंगीत भनेपछि हुरुक्कै हुन्थे । रेडियोमा गीत बज्नेबित्तिकै स्वरमा स्वर मिलाउँथे ।
उनको गायनप्रतिको यही लगावले रेडियोमा बज्ने जस्तासुकै भाकामा पनि स्वर मिलाउन प्रेरित ग¥यो । थप साधना गर्दै अगाडि बढेपछि उनी प्रतिस्पर्धामा सबैखाले गीत गाउन सफल भए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४