नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेकी पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा निषेध नगरिएको उल्लेख गरेका छन्। उनले भने, ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को? उहाँलाई कसले रोक्छ? कसरी रोक्छ? हामी त उहाँलाई निषेध गर्दैनौं।’
पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा सक्रिय हुने अवस्था देखिए आउँदा हुने उनले बताए। उनले थपे, ‘उहाँले आएर राम्रो राम्रो नेतृत्व गर्दा हुन्छ। उहाँलाई पार्टी राजनीतिमा स्वागत छ।’
विराटनगरमा आज कोशी प्रदेश संगठन कमिटीको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेशमा सत्तामा रहेको गठबन्धनले संविधान र लोकतन्त्रविरुद्ध फोहोरी खेल खेलिरहेको बताए।
प्रदेशमा सत्तारुढ गठबन्धन संविधानविरोधी भएको बताएका अध्यक्ष ओलीले भने, ‘अहिलेको गठन्धन संविधानविरोधी हो। यो गठबन्धन लोकतान्त्रिक मूल्य–मान्यताविरोधी हो। लोकतान्त्रिक मूल्य–मान्यता अभ्यास आचरण गर्न चाहँदैन। हामीले पहिलेदेखि भन्दै आएको हो। तर, यसरी संविधान मिचिँदा, हामीले संविधान नमिच्दा पनि संविधान मिच्यो भनेर विरोध गर्नेहरू अहिले यसरी संविधान मिच्दा चुपचाप लाग्ने केही भएकै छैन भनेजस्तो गर्ने प्रवृत्ति देखिएको छ।’
प्रदेशमा गठबन्धनले संविधान मिच्दा केन्द्रीय गठबन्धन चुपचाप बसेको उनले आरोप लगाए। सर्वोच्च अदालतले समेत गठबन्धन सरकारलाई अवैध बताइसकेको उनको भनाइ छ। उनले भने, ‘अदालतले समेत यो सरकार गठन अवैध भएको जनाएको छ। तैपनि दलहरु त्यसलाई स्विकार्न चाहिरहेका छैनन्।’
अध्यक्ष ओलीले प्रदेशको नाम कोशी उपयुक्त भएको दाबी गरे। पहिचानवादीको असन्तुष्टिप्रति उनले भने, ‘गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेका छन्। यहाँ सबै जातजाति किराँत, लिम्बूवान, मधेसी, थारु, शेर्पा सबैले न्याय पाउनुपर्छ।’