नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले कोशी प्रदेशमा फोहोरी खेल खेलेको आरोप लगाएका छन्। आइतबार विराटनगरमा आयोजित कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले कोशीमा गठबन्धनले फोहोरी खेल खेले पनि केन्द्रमा यसका नेतृत्वहरू मौन रहेको टिप्पणी गरे।
उनले लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरूद्ध प्रदेशमा बलमिच्याइँ भइरहँदा केन्द्रीय नेतृत्व मौन बस्नु आश्चर्यजनक रहेको बताए। उनले भने, ‘गठबन्धनको नाममा पटक-पटक लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको छ। बलमिच्याइँ गरेर फोहोरी राजनीति गरिरहेका छन्। तर, केन्द्रको गठबन्धन चुपचाप देखिन्छ।’
सर्वोच्चले नै अवैध ठहर गरिसक्दा पनि नछाड्नुले गठबन्धन जुनसुकै हालतमा प्रदेशको सत्ता कब्जा गर्न लागिपरेको पुष्टि हुने ओलीको भनाइ छ। उनले भने, 'अदालतले सरकार गठन अवैध भनिसकेको छ। त्यही पनि उनीहरु अझै यसलाई स्वीकार्न तयार देखिँदैनन्। गठबन्धन प्रदेशमा सत्ता कब्जा गर्न लागेको छ।