संसद्का विषयगत समिति सभापतिमा सांसदहरूले उम्मेदवारी दिएका छन्। यसअनुसार नेपाली कांग्रेसका सांसद आरजु राणा र रामहरि खतिवडाले क्रमश: कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्।
कांग्रेसकै सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दर्ता गरे। कांग्रेसका जीवन परियारले संयुक्त संसदीय सुनुवाइ समितिको सभापतिमा उम्मेदवारी दिएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्। एमालेकै किरण कुमार साहले महिला तथा सामाजिक सामिला समितिमा उम्मेदवारी दिएका छन्।
सत्तारुढ दल माओवादी केन्द्रका सांसद विमला सुवेदीले कानुन न्याय तथा मानव अधिकार समिति, जसपाका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। यसैगरी पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपक सिंहले उम्मेदवारी दर्ता गरेका छन्।
प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषयगत समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणाअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो।