आइतबार, असार २९, २०८२

कसले बनाउन खोज्दै छ शान्त धरानलाई अशान्त?

धरानमा सामाजिक सद्भाव बिथोलिने चिन्ता बढेसँगै प्रशासनले बढायो सुरक्षा निगरानी।
 |  शनिबार, भदौ ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

vianetvianet

काठमाडौं– जातीय पहिचानका नाममा गोरु काटेर सामूहिक भोज खाएका दृश्य सामाजिक सञ्जालमा छरपस्ट भएपछि धार्मिक, सामाजिक र राजनीतिक दृष्टिले शान्त धरान यतिबेला अशान्त हुने हो कि भन्ने पिरलो बढेको छ। गौहत्याको विरोधमा हिन्दुवादी संघ–संगठनले जुलुसीसहित धरान जाने तयारी थालेपछि सामाजिक सद्भाव बिथोलिन चिन्ता बढेको हो। यद्यपि सुनसरी प्रशासनले भने गौंडागौंडामा सुरक्षाबन्दोबस्ती ह्वात्तै बढाइएको छ।

आज बिहान विराटनगरको कञ्चनबारीमा भेला भएका राप्रपा नेतासमेत सहभागी हिन्दुवादीहरु जुलुससहित धरान लागेका छन्। जुलुसले गणतन्त्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई तथानाम गाली गरिरहेको छ। नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने नभए संघर्षमा उत्रिने चेतावनी हिन्दुवादी संघ–संगठनले दिएका छन्। 

पछिल्लो समय धरानका मेयर हर्क साम्पाङलाई हिन्दु आस्थाको मन्दिर नजिकै उपमहानगरको स्वीकृतिबिनै निर्माण गरिएको चर्चलाई अन्यत्र स्थानान्तरण गर्न र सामूहिक गोरु काटेर खानेमाथि कारबाही गर्ने माग हिन्दु संघसंस्थाले गरिरहेका छन्। सोही कारण पनि हिन्दुवादीका नाममा धरान हिँडेको जुलुस र पहिचानवादीका नाममा अतिवादी सोच भएकाहरुबीच झडप हुने आशंकामा स्थितिलाई नियन्त्रणमा रारिराख्न प्रहरीले विराटनगरको बीच बाटोमा नै चेकजाँचलाई कडाइ गरेको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेबाट शुक्रबार धरानका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको सूचना प्रकाशित भइसकेको छ। धरान उपमहानगर पस्ने बराहक्षेत्र नगरपालिका–१ मा पर्ने झन्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगर प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नगरपालिका–६ बाट बराहक्षेत्र– ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगर–२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगर–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँघुरीगढी पालिका–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा शान्ति सद्भाव नबिथोलियस् भन्नाका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

धरानका मेयर हर्क साम्पाङसहित सबै राजनीतिक दलका नेताहरु, पूर्वमेयरहरु, नागरिक अगुवाले सबैलाई संयम अपनाउन अपिल गर्दै सामूहिक विज्ञप्तिमा निकाले छन्। उनीहरूले धार्मिक र सामाजिक सद्भाव कायम राख्न पनि अपिल गरेका छन्। ‘एकअर्को समुदायमाथि द्वेष फैलाउने र सामाजिक सद्भाव खलबलाउने काम यसअघि कहिल्यै भएको छैन। वर्षौंदेखिको आपसी सद्भाव, भाइचारा र एकता कायम गरेका समाज र समुदाय नै धरानको सौन्दर्य हो, विशेषता पनि हो’, धरानका चार पूर्वनगर प्रमुखहरूले संयुक्त विज्ञप्तिमा भनेका छन्।

धरानमा क्रियाशील सबै राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम गर्न र धार्मिक द्वन्द्व निम्त्याउने वातावरण अन्त्य गर्न सबै पक्षलाई अपिल गरेका छन्। शुक्रबार धरानमा बसेको सर्वदलीय बैठकले केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सामाजिक सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशंका देखिएको भन्दै चिन्ता व्यक्त गरेको थियो। 

तर राजनीतिक दलहरुका सामूहिक विज्ञप्तिबाट पनि धरान शान्त नहुने स्थिति देखिएपछि प्रशासनले सहर प्रवेशमा थप कडाइ गरेको हो। धरानमा आज आयोजना गरिने धार्मिक जुलुसमाथि पहिचानवादीको नाममा आक्रमण हुन सक्ने भय पनि यथावत् छ। सोही कारण प्रशासन चनाखो भएको हो। यतिबेला धरानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। ‘धरान प्रवेशका सबै नाकामा कडाइ गरेका छौं,’ सुनसरी प्रहरीले भनेको छ, ‘धरानबाट बाहिर जान रोक नलगाई पनि आउन कडाइ गरेका छौं।’

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि धरानमा आज बिहानैदेखिख मानिसको चहलपहल भने न्यून देखिएको स्थानीय बताउँछन्। निषेधाज्ञाका कारण धरान हुँदै कोशी राजमार्ग भएर चल्ने सार्वजनिक सवारीसाधन ठप्प रहेको यातायात व्यवसायी कुमार कार्कीले बताए। उनका अनुसार धरानबाट अन्यत्र जाने र अन्यत्रबाट धरान भित्रिने सार्वजनिक सवारी आउजाउ बन्द गरिएको छ।

धरानमा बजार केही खुला भए पनि निषेधाज्ञालाई धरानबासीले पालना गरेको उपमहानगर उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए। धरानमा सामाजिक सद्भाव खलबलिन नदिन सबै पक्षका अगुवा अग्रसर भइरहेको उनको भनाइ छ।

गृह मन्त्रालयबाट पनि धरानमा सुरक्षा व्यवस्था चुस्त राख्न प्रहरी प्रशासनलाई सतर्क तुल्याइएको बताइएको छ। धरान घटनाको विषय संघीय संसद्मा समेत चर्चा गरिनुका साथै सद्भावका लागि आग्रह गरिएको थियो। स्थानीय प्रशासनले धरानमा केही दिनदेखि चर्किएको सामाजिक सद्भावन बिथोलिने विवादले शान्ति–सुरक्षा र सामाजिक सद्भाव खलबलिनबाट रोक्न आवश्यक पहल भइरहेको जनाएको छ।

धर्म निरपेक्ष मुलुक नेपालमा गोरुको मासु खान पाउनुपर्ने पहिचानवादीको अतिवादी खेमाले यसलाई जातीय रङ दिएकाले सामाजिक सद्भाव बिथोलिने चिन्ता जगाएको हो। हिन्दुलगायतका धार्मिक संस्थाले धार्मिक र सामाजिक सद्भाव बिथोल्ने प्रयास गरिएको दाबी गरिरहेका छन्। गोरुको मासु खाएको भिडियो एक साताअघि सामाजिक सञ्जालमा पोष्ट गरिनासाथ घटनाको समर्थन र विपक्षमा सडक प्रदर्शन गरिने आशंकामा धरानमा सामाजिक सद्भावका लागि सबै पक्षबाट पहल थालिएको हो।

वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आयोगको अपिल

राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवं सामाजिक सद्भाव कायम राख्न आयोगले सम्बद्ध सबै पक्षलाई अपिल गरेको हो। एकआपसमा देखिएका विमतिलाई वार्ताको माध्यमबाट समाधान खोज्न आयोग सबै पक्षलाई आग्रहसमेत गरेको छ।

धरान उपमहानगर क्षेत्रमा केही दिनअघि गोरु काटेको र हिन्दु मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले आज विरोध जुलुस निकाल्ने तयारी गरिरहँदा साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटना रोक्न सबै भेला तथा कार्यक्रम रोकिएको अनुगमनका क्रममा बुझिएको आयोगले जनाएको छ।

प्रकाशित: Aug 26, 2023| 13:24 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्