काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गत ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भई बाहिरिएका बेला बरामद तस्करीको एक क्विन्टल सुन (गालेपछि ६० केजी) बारे जानकारी भए सूचना र प्रमाण उपलब्ध गराइदिन सर्वसाधारण आग्रह गरेको छ।
सुन तस्करी प्रकरणमा नेतागणको हात रहेको दाबी गर्दै प्रतिपक्षी एमालेले करिब महिना दिन संसद् अवरुद्ध गरेकामा हाल उच्चस्तरीय छानबिन समिति गठनको सहमतिपछि सदन चल्न थालेको छ।
सीआईबीले विभिन्न तस्कर समूहले अबैध रुपमा भन्सार छली ल्याएको सुन प्रकरणबारे अहिले पनि अनुसन्धान चलिरहेकाले सूचना र प्रमाण उपलब्ध गराइदिन सर्वसाधारणलाई आग्रह गरेको हो।
केही दिनयता सुन प्रकरणमा विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित भएको समाचारबारे ध्यानाकर्षण भएको, तथ्य र प्रमाण बटुल्ने काम चलिरहेको, यसअघि विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणको पनि सूक्ष्म अनुसन्धान थालिएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए। सीआईबीले सर्वसाधारणसँग सूचनामा सहज पहुँचका लागि मोबाइल नम्बरसमेत सार्वजनिक गरेको छ।