मंगलबार, वैशाख २९, २०८३

एक महिनामा कामपाको राजस्व ६५ करोड

 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

काठमाडौं- काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु ६५ करोड ४२ लाख बढी राजस्व असुल गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रु ४५ करोडमात्र राजस्व असुल गरेको कामपाले अहिले राजस्व बढाएको छ।

National life

चालु आवका लागि कामपाले रु १० अर्ब ८१ करोडको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको पहिलो महिनामा रु २० करोडले बढी हो।

चालु आवको पहिलो महिनामा सबैभन्दा बढी रु ३१ करोड घरबहाल करबाट असुल भएको काफ्लेको भनाइ छ। सम्पत्ति करमा रु १२ करोड असुल भएको छ। सबैभन्दा कम न्यायिक दस्तुरमा रु ३५ हजार मात्र असुल भएको छ। बहाल कर तिर्ने करदाता बढेकाले पछिल्लो समय कामपाको राजस्व रकम बढेको कामपा प्रमुख काफ्लेले जानकारी दिए।

उनका अनुसार विगतका वर्षमा भन्दा अहिले करदाता पनि निकै नै बढेका छन्। अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन्। समयमा नै कर तिर्नका लागि कामपाले ३२ वटै वडा कार्यालयमा बिहान बेलुका वडा सदस्य र कर्मचारीको नेतृत्वमा उत्प्रेरित गर्ने काम पनि गरिरहेको छ। कामपाले समयमा नै कर असुल गराउनका लागि गत फागुन २ गते घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको थियो।

बहाल कर निर्देशिका जारी भएसँगै कर तिर्ने करिब ५१ हजार करदाता बढेका छन्। उक्त सङ्ख्या निर्देशिका जारी भएपछि मात्रै झन्डै एक हजारले बढेका हुन्। निर्देशिकाअनुसार कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्बन्धित वडा कार्यालयसँग लिखित सम्झौता गर्नुपर्छ।

कामपाले सम्पत्ति कर, घरजग्गा, बहाल, व्यवसाय र मनोरञ्जनसहित ३६ शीर्षकमा कर असुल गर्दै आएको छ। कामपाले आव २०७९/८० मा रु १० अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको थियो। अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजस्व लक्ष्यअनुसार नै उठे पनि सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कम आउँदा समग्र राजस्व गत आवमा घटेको छ।

प्रकाशित: Aug 23, 2023| 21:18 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्