काठमाडौं– करिब महिना दिनपछि आज बसेको संघीय संसद्को प्रतिनिधिसभा बैठकको विशेष समयमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राजनीतिक दलहरुबीच भएको सर्वदलीय बैठकको सहमतिबारे संसद्लाई जानकारी गराएका छन्।
उनले गत २ साउनमा त्रिभुवन विमानस्थलबाट तस्करीमार्फत बाहिरिएको र पटक–पटक मुलुकभित्र भित्रिँदै आएको अवैध सुनबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको बताए।
हालको कानुनले नपुग्ने भए परिमार्जन गर्न सुझाव दिन जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आगामी ५ असोजमा सरकारले आयोग गठन गर्ने उनले जानकारी दिए।
त्यसै दिनदेखि आयोगले कार्यारम्भ गर्ने सहमति भएको उनले बताए। सहमतिपछि संसद् खुलेपछि नेपाली जनताका समस्यालाई सुन्ने अपेक्षा उनले व्यक्त गरे।