काठमाडौं– मिटरब्याजपीडित संघर्ष समितिमा आबद्ध समूहले स्थानीय व्यापारी रुपेश साहमाथि कुटपिट गरेपछि त्यसको विरोधमा व्यवसायीले जलेश्वर बजार बन्द गराएका छन्।
मंगलबार संघर्ष समितिले निकालेको र्यालीमा सहभागी एक महिलालाई साहको मोटरसाइकलले हानेपछि कुटाइ खाएका थिए। मंगलबार साहलाई कुटिएपछि जलेश्वर उद्योग वाणिज्य संघले आज बजार बन्द गराएको संघ अध्यक्ष लवराजा सिंहले बताए।
प्रहरीले मंगलबार राती पनि संघ कार्यसमिति सदस्य राकेश साहलाई नियन्त्रणमा लिई कुटपिट गरेको र दबाब दिएपछि मात्र छाडेकाले असुरक्षा बढेपछि बजार बन्द गर्नुपरेको उनले दाबी गरे। व्यापारी कुट्ने दोषीमाथि कारबाही गर्नुपर्ने माग उनको छ।
मिटरब्याजपीडित संघर्ष समितिका जिल्ला संयोजक पुरुषोत्तम अधिकारीले र्यालीमा सहभागीसँग एक जना मिटरब्याजीका पक्षबाट लबिइङ गर्न जिल्ला प्रहरी कार्यालय गएका व्यक्तिले विवाद निकालेका र अपमानित शब्द प्रयोग गरेपछि आन्दोलनमा सहभागी केही व्यक्तिले साहलाई लखेटेको बताए। तर ती व्यक्तिमाथि कुटपिट नगरेको दाबी गरे।