मंगलबार, असार ३१, २०८२

सिंहदरबार बैठकले खुलाउला संसद्?

सिंहदबारमा लगातार दुई दिनदेखि जारी सर्वदलीय छलफल सहमतिमा टुंगिए करिब चार सातादेखि अवरुद्ध संसद्का दुवै बैठक सुचारु हुनेछन्। 
 |  बुधबार, भदौ ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा लामो समयदेखि अवरुद्ध संसद् खुलाउन राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरु सम्मिलित बैठक सिंहदबारमा लगातार बसिरहेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको बैठका प्रमुख प्रतिपक्षी  एमाले अध्यक्ष केपी ओली पनि उपस्थित छन्। एमालेकै कारण अवरुद्ध संसद् सर्वदलीय बैठकमा ओली सहभागी भएपछि खुल्छ कि भन्ने अपेक्षा गरिएको छ।

सोमबार बेलुकी अवैध सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनका लागि सहमत भएका दलहरुले कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपनेता सुवास नेम्बाङ, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्यदल गठन गरिसकेका छन्।  समितिको कार्यदेशबारे सैद्धान्तिक छलफलका लागि मंगलबार बस्ने भनिएको बैठक एमाले अध्यक्ष ओली अनुपस्थित भएपछि स्थगन गरेर आजका लागि सारिएको हो। 

सोमबारको सहमति अक्षरशः कार्यान्वयन भएको भए मंगलबारदेखि नै संसद् चल्नुपर्ने हो। तर मंगलबार संसद् बैठक बस्दै नबसी सूचना टाँसेर आज अपराह्न ३ बजेका लागि बोलाइएको छ। राजनीतिक दलहरूबीचको सहमतिपछि संसद् अवरोध हट्ने भनिए पनि मंगलबार बैठक नबस्दा १० साउनले निरन्तरता पाइरहेको हो।

ओली उपस्थित नभएपछि बिनानिष्कर्ष टुंगिएको बैठकलाई आज निष्कर्ष दिनेबारे सिंहदरबारमा छलफल भइरहेको हो। ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल अवैध सुन (गालेपछि ६० केजी) प्रकरणको उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित एमालेले लगातार संसद् अवरोध गर्दै आएको छ।

सोमबार उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार भइसकेको छ भने गठबन्धनको ठूलो दल कांग्रेसले सहमति दिइसकेको छ। यद्यपि गठबन्धनको संयुक्त बैठक बसेर औपचारिक निर्णय भने गरिएको छैन। एमालेले समितिको संरचनालाई लिएर असन्तुष्टि जनाएपछि मंगलबारको प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको थियो।

सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठनलाई अन्तिम रुप दिन र अवरुद्ध संसद् खुलाउने सहमति जुटाउन सिंहदबारमा दुई दिनदेखि लगातार सर्वदलीय बैठक बसिरहेको हो। यद्यपि राजनीतिक गतिरोध अन्त्य गरेर संसद् फुकाउन प्रमुख दलहरू अझै सहमतिमा पुगेका छैनन्।

मंगलबार दिउँसो २ बजे बानेश्वरस्थित संसद् भवनमा बस्ने भनिएको बैठक एमाले अध्यक्ष ओली नआएपछि स्थगित भएको थियो। मंगलबार नै दिउँसो २ बजे बैठक बसेर समितिको कार्यादेश, क्षेत्राधिकार र संरचना टुंगो लगाउने तयारी थियो। आज सिंहदरबारमा बसिरहेको बैठकमा कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रका शीर्ष नेतासहितका प्रमुख सचेतक सहभागी छन्।

सिंहदरबार छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले उपाध्यक्ष सुवास नेम्बाङलगायत सहभागी छन्।

यस्तै, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी छन्। मंगलबार सर्वदलीय बैठकमा सहभागी रास्वपा सभापति लामिछाने भने आज देखिएनन्। छलफल सहमतिमा टुंगियो भने करिब चार सातादेखि अवरुद्ध संसद्का दुवै बैठक सुचारु हुनेछन्। 

शीर्ष दलहरुबीच कुरो नमिल्दा संघीय प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुवै बैठक कहिले बस्दै नबसी सूचना टाँसेर र कहिले चल्नासाथ अवरुद्ध भइरहेका स्थगित हुँदै आएका छन्।

प्रकाशित: Aug 23, 2023| 13:36 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्