काठमाडौं– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनका नाममा भ्रष्टाचारीको संरक्षण गरिरहेको एमाले महासचिव शंकर पोखरेलले आरोप लगाएका छन्।
सुर्खेत आएका महासचिव पोखरेलले आज बिहान वीरेन्द्रनगरमा पत्रकारसँग ‘कफी र कुरा’ नामक छलफलमा सरकारले सुशासनको अभियान चलाएर भ्रष्टचारीको संरक्षण गरिरहेको दाबी गरेका हुन्।
उनले भने, ‘प्रचण्ड सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास अनुसन्धान र सुनकाण्डमा छानबिनमा सक्कली रुप देखाएर सुशासनको गुड्डी हाँकेको छ। भ्रष्टाचारको आरोप लागेका आफ्ना पार्टीका मान्छेलाई सुशासनका नाममा छुट दिइएको छ। सुशासनको नाम दिएर सरकारले भ्रमको खेती गरिरहेको छ।’
सरकारकै पार्टीका मान्छेले सुन तस्करी चलाइरहेको देखिएपछि एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको उनले बताए। ललिता निवास प्रकरणमा मुछिएकालाई पनि छानीछानी सफाइ दिएर सरकारले सुशासनको जग हँसाएको उनले आरोप लगाए।