मंगलबार, असार ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • साउनमा आन्तरिक राजस्व लक्ष्यभन्दा न्यून, ४० अर्ब ३४ करोडभन्दा बढी संकलन

साउनमा आन्तरिक राजस्व लक्ष्यभन्दा न्यून, ४० अर्ब ३४ करोडभन्दा बढी संकलन

 |  मंगलबार, भदौ ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

vianetvianet

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून भएको छ।

आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व संकलन भएको छ। चालु आवको पहिलो महिनामा ४९ अर्ब ७० लाख रूपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ४० अर्ब ३४ करोड ४१ लाख रूपैयाँ बराबर मात्रै संकलन भएको विभागले जनाएको छ। गत महिना आन्तरिक राजस्वतर्फका कुनै पनि कर शीर्षकमा सरकारी लक्ष्य भेटिएको छैन।

साउनमा १६ अर्ब नौ करोड १३ लाख ५६ हजार रूपैयाँ बराबर आयकर संकलन गर्ने लक्ष्य राखिएकोमा १३ अर्ब २६ करोड ३६ लाख ६३ हजार रूपैयाँ बराबर मात्रै संकलन भएको छ। आयकरतर्फको मासिक लक्ष्यमा वास्तविक प्राप्ति ८२ दशमलव ४३ प्रतिशत बराबर हो।

मूल्य अभिवृद्धि कर (भ्याट) पनि मासिक लक्ष्यको ८१ दशमलव ९७ प्रतिशत मात्रै उठेको छ। साउन महिनामा १४ अर्ब २४ लाख ७२ हजार रूपैयाँ बराबर भ्याट संकलन गर्ने लक्ष्य राखिएकोमा ११ अर्ब ४७ करोड ७८ लाख ५५ हजार रूपैयाँ बराबर मात्रै उठेको देखिएको हो।

त्यस्तै, अन्तःशुल्कतर्फ १० अर्ब ६१ करोड ७१ लाख ४६ हजार रूपैयाँ बराबर उठाउने लक्ष्य राखिएकोमा सात अर्ब ७० करोड ९५ लाख ८९ हजार रूपैयाँ बराबर उठेको छ। जुन लक्ष्यको ७२ दशमलव ६१ प्रतिशत हो।

घर बहाल कर र स्वास्थ्य सेवा कर पनि लक्ष्यभन्दा न्यून देखिँदा साउन महिनामा शिक्षा सेवा कर भने लक्ष्यभन्दा बढी देखिएको छ। पहिलो महिना घरबहाल करतर्फ मासिक लक्ष्यको ७१ दशमलव ५२ प्रतिशत अर्थात् २२ करोड २० लाख छ हजार रूपैयाँ र स्वास्थ्य सेवा करतर्फ मासिक लक्ष्यको ६५ दशमलव एक प्रतिशत अर्थात् ६५ करोड ७१ लाख ६३ हजार रूपैयाँ बराबर उठेको छ। शिक्षा सेवा कर भने मासिक लक्ष्यभन्दा बढी उठेको छ।

साउनका लागि यो शीर्षकमा २० करोड ४५ लाख एक हजार बराबर शिक्षा सेवा कर उठाउने सरकारको लक्ष्य रहेकोमा २८ करोड ९६ लाख १७ हजार रूपैयाँ बराबर उठेको छ। जुन लक्ष्यभन्दा ४१ दशमलव ६२ प्रतिशत बिन्दुले बढी हो।

चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले उठाएको आन्तरिक राजस्व गत आर्थिक वर्षको सोही अवधिमा उठाएको भन्दा बढी हो। गत आर्थिक वर्ष साउनमा सरकारले ३९ अर्ब ८६ करोड ३४ लाख रूपैयाँ बराबर आन्तरिक राजस्व उठाएको थियो।

गत आर्थिक वर्ष २०७९/८० का लागि सरकारले छ खर्ब २६ अर्ब ६१ करोड रूपैयाँ बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेकोमा ७६ दशमलव ५७ प्रतिशत अर्थात् चार खर्ब ७९ अर्ब ७९ करोड बराबर मात्रै संकलन भएको थियो  चालु आर्थिक वर्षका लागि सरकारले छ खर्ब ७७ अर्ब ७३ करोड रूपैयाँ बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ।

प्रकाशित: Aug 22, 2023| 21:41 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्