काठमाडौं– सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पार्टीका नेताहरुको प्रदेश र विभागको जिम्मेवारी तोकेको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले विभिन्न नेतालाई प्रदेश र विभागको जिम्मेवारी तोकेको हो।
केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इन्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्ज र गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
उनका अनुसार बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वरप्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र ई देवनारायण यादव रहेको केन्द्रीय कार्यालय समितिसमेत गठन गरेको छ। यसैगरी संगठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ भने विभागका सदस्यमा रेणु यादव र लाक्पा शेर्पा रहेका छन्।
संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुखमा लालबाबु राउत तथा सदस्यमा शैलेन्द्र साह र सनबहादुर राई चयन भएका छन्। सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागमा मनिषकुमार सुमन तथा सदस्यमा लक्ष्मण हुमागाईं र योगराज वनेम चयन भएको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए।
यसैगरी नवलकिशोर साहलाई आर्थिक विभागको सदस्यमा चयन गरिएको छ भने युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठ रहेका छन्। विभागको सदस्यमा विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधान सदस्य रहेका छन्।
महिला विभागमा लीला सिटौला, सदस्यमा उर्मिला साह, मञ्जु अन्सारी, विनिता यादव, किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा चयन भएको जसपाले जनाएको छ। केन्द्रीय सदस्य मनोरञ्जन गोइतमाथि गरिएको अनुशासनात्मक कारबाही फुकुवा गर्ने निर्णय गरेको केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए।