काठमाडौं– संसद् अवरोध हटाउन शीतलनिवासमा बोलाइएको सर्वदलीय बैठकमा समसामयिक विषयमा राजनीतिक दलहरुसँग राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरेका छन्। राष्ट्रिय राजनीतिमा अनावश्यक सक्रियता देखाएको बताएर प्रतिपक्षी एमालेले बैठक वहिष्कार गरे पनि राष्ट्रपति रामचन्द्र पौडेलले आफू एक्टिभ हुन नखोजेको प्रस्टीकरण दिएका छन्।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्दै एमालेले निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन्।राष्ट्रपति पौडेलले संसद् गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए।
शीतलनिवास बैठकमा राष्ट्रपति पौडेलले भने, ‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन। म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ। त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो। विभिन्न कारणले तपाईंहरू सबैसँग भेट हुन सकेको थिएन। तपार्इंहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौं भन्ने पनि थियो।’
संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई पौडेलले राजनीतिक दलका नेतालाई सम्झाएका छन्। संंविधानमा रहेको जिम्मेवारी पूरा गर्न सधैं चिन्तित हुने गरेको उनको भनाइ छ।
‘अहिले आएर कता–कता हाम्रो संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ। यसले गर्दा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिँड्न सकेका छौं कि छैनौं भनेर पनि सोच्नुपर्ने बेला भएको छ भन्ने मलाई लाग्छ’, उनले भने। संंघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि आवश्यक र महत्त्वपूर्ण कानुन बन्न नसकेको भनेर चौतर्फी प्रश्न उठिरहेको उनले बताए।
सत्य निरुपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुनी विषय अझै टुंगोमा पुग्न नसकेकाले यसलाई पार लगाउन नसकिए जनताले खोजेको शान्तिको चाहना पूरा हुन नसक्ने राष्ट्रपति पौडेलले औंल्याए।
राजनीतिक दलका नेता सम्मिलित बैठकमा राष्ट्रपति पौडेलले नेपाललाई प्रि–ग्रे लिस्टमा एक वर्षका लागि राख्ने स्थिति आउनु चिन्ताको विषय भएको सुनाए। त्यसैले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन यथाशीघ्र पारित गरेर नेपाललाई कालोसूचीबाट जोगाउने पहलकदमी लिनु सबैको साझा दायित्व भएको उनको धारणा थियो।
देशको आर्थिक अवस्थामा शिथिलता देखिएको स्थितिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन समयमै पास गर्न नसकिए नेपालमा आउने विदेशी लगानी रोकिन सक्छ र नेपालको साख अन्तर्राष्ट्रिय जगतमा गिर्न सक्छ भन्नेतर्फ सचेत भएर कानुन बनाउनेतिर अग्रसर हुन उनले राजनीतिक दलका नेताहरुलाई आग्रह गरे।
सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्व हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुन्छ भन्ने सर्वत्र चिन्ता प्रकट भइरहेका बेला सबै दलहरुको आपसी संवाद र प्रयत्नले सहमतिको नजिक पुगेको खबरबाट आफूलाई खुसी लागेको राष्ट्रपति पौडेलले बताए। ‘यो सहमतिको प्रयत्नले तत्काल सार्थकता पाएर अवरुद्ध संसद् सञ्चालन हुनेछ भन्ने मैले विश्वास लिएको छु’, उनले भने।
यदाकदा दलहरुबीच विवाद, द्वन्द्व र तिक्तता देखापर्ने गरे पनि राष्ट्रिय स्वार्थ र हितका लागि वार्ता, संवाद र छलफलबाट निकासमा पुग्नुपर्ने सुझाव उनले दिए। ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो। नेपालका राजनीतिक दलहरूले विगतमा विषम परिस्थितमा पनि संवादकै माध्यमबाट समस्या सुल्झाएका कैयौ उदाहरण हाम्रासामु छन्। त्यही भएर सधैँ आपसी संवाद, वार्ता र छलफलबाट समस्याको निकास निकाल्न सबै राजनीतिक दलहरू अग्रसर होउन् भन्ने सदिच्छा हो। जनताको अपेक्षा पनि यही हो,’ उनले भने।
सुशासनका पक्षमा दह्रोसँग उभिन नसक्दा समाज नै भ्रष्टीकरणतर्फ उन्मुख हुने हो कि भन्ने सर्वत्र चिन्ता भइरहेका बेला सार्वभौम संसद सुशासन प्रत्याभूत गराउन सबैलाई बाध्य पार्ने थलो हो भनेर सिद्ध गर्न उनले राजनीतिक दलहरुलाई आग्रह गरे।
राष्ट्रिय सुरक्षा, बेरोजगारी तथा भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास तथा परराष्ट्र नीतिजस्ता मुलुकका साझा दायित्व र जिम्मेवारीमा सबै राजनीतिक दलको समान दृष्टिकोण होस् भन्ने आफ्नो चाहना रहेको उनले बताए। ‘हामीले हाम्रो जिम्मेवारी सही ढंगले पूरा गर्न सकेनौं र जनताको अपेक्षालाई उपेक्षा गरिरह्यौं भने हामीले अवलम्बन गरेको सर्वोत्कृष्ट व्यवस्था हुँदाहुँदै पनि जनतामा यसप्रति नैराश्य उत्पन्न हुने भएकाले यसतर्फ सचेत रहन सबैको ध्यानाकृष्ट गराउन चाहन्छु,’ राष्ट्रपति पौडेलले भने।
छलफलमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिको शुभेच्छा अत्यन्तै सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।
‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन। हामी निरन्तर छलफलमा छौं। संसद् सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं। राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु,’ उनले भने।