बिहीबार, साउन १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेको अडानले संसद् अवरोध कायमै रहेपछि राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक 

एमालेको अडानले संसद् अवरोध कायमै रहेपछि राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक 

 |  आइतबार, भदौ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

vianetvianet

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोधका कारण संसद् बैठक सञ्‍चालन हुन नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले समाधान खोज्‍न सर्वदलीय बैठक बोलाएका छन्। राष्ट्रपति पौडेलले संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सर्वदलीय बैठक बोलाएका हुन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसद्मा‌ प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शितलनिवास बोलाइएको हो। यसअघि पनि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे र राष्ट्रपति सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बोलाएर छुट्टाछुट्टै छलफल गरेका थिए। 

उक्त छलफलपछि पनि नेकपा एमालेले संसद् बैठक सञ्‍चालन हुन नदिने अडान कायमै राखेको हो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गरिरहेको छ भने सत्तापक्षले राज्यका वैधानिक संयन्त्रबाट नै अनुसन्धान अघि बढाउने र छुट्टै समिति गठन हुन नसक्‍ने दोहोर्‍याइरहेको छ। 

संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा आइतबार बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएको छ। बैठकमा सरकारका तर्फबाट उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल अर्को छानबिन समिति बनाउँदा हाल भइरहेको अनुसन्धान प्रभावित हुने भन्दै निश्चित समय नेपाल प्रहरीलाई नै अनुसन्धानका लागि दिन सकिने र त्यसपछि आवश्यक परे छानबिन समिति बनाउन सकिने बताएका छन्।

बैठकमा संसद् खुलाउने विषयमा सबै दलका नेताहरू सकारात्मक भए पनि सहमति हुन नसकेको नेताहरूले बताएका छन्। बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बैठकमा छलफल सकारात्मक ढंगले अघि बढे पनि निष्कर्षमा नपुगेको बताए। ‘आजको छलफल सकारात्मक ढंगले अघि बढेको छ, सोमबार वा मंगलबार फेरि अर्को बैठक बस्ने र छलफल गर्ने भन्ने कुरा भयो,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् खुलाउने विषयलाई केन्द्रमा राखेर छलफल भएको बताए। ‘प्रमुख प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउनैपर्छ भन्ने अडान राखिरहेको छ। फेरि गृहमन्त्रीज्यूले भइरहेको अनुसन्धानलाई निश्चित समयसम्म पर्खिएर हेरौँ भन्नुभएको छ, उहाँले मागेको समय पनि अब धेरै छैन,’ नेता लामिछानेले भने, ‘आजै सहमति भएन। तर छलफल संसद् खुलाउने विषयमै केन्द्रीत छ।’ उनले आफूहरूले जसरी पनि संसद् सुचारु रुपमा सञ्चालन हुनपर्छ भन्ने अडान राखेको बताए।

‘जे भए पनि संसद् खुल्नुपर्छ भन्ने हाम्रो कुरा हो। संसद् खुल्यो भने गृहमन्त्रीलाई त्यहीबाट प्रश्न गर्न मिल्छ। अनुसन्धानका अरू विविध विषयहरूमा छलफल गर्न सकिन्छ,’ उनले भने, ‘संसद् नै ठप्प भएपछि सबै विषयमाथिको छलफल रोकिएको छ, यो राम्रो भएन।’

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै एमालेले १० साउनदेखि संसद् चल्न दिएको छैन। प्रधानमन्त्री प्रचण्डले त्यसबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए, तर आइतबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहे। नेताहरूले ओली अस्वस्थ भएका कारण बैठकमा सहभागी नभएको बताए। एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी बैठकमा सहभागी थिए।

प्रकाशित: Aug 20, 2023| 19:10 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्