मंगलबार, वैशाख २९, २०८३

जुम्लामा उठ्यो साढे ४७ करोड राजस्व

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

जुम्ला- जुम्लाको आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा ४७ करोड रूपैयाँ बढी राजस्व संकलन गरेको छ।

National life

सदरमुकाम खलंगास्थित आन्तरिक राजस्व कार्यालयको आर्थिक वर्ष २०७९/८० मा वार्षिक राजस्वको लक्ष्य ४७ करोड ५६ लाख रूपैयाँ रहेकामा ४७ करोड २६ लाख रूपैयाँ संकलन गरिएको कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए। उनका अनुसार यो लक्ष्यको ९९ दशमलव ४१ प्रतिशत हो।

'यस कार्यालयको राजस्व संकलनको अवस्था राम्रो रहेको छ', सूचना अधिकारी उपाध्यायले भने, 'आव २०७८/७९ को तुलनामा सात करोड रूपैयाँ बढी राजस्व संकलन भएको छ।'

विभिन्न शीर्षकबाट उक्त राजस्व संकलन भएको सूचना अधिकारी उपाध्यायको भनाइ थियो। उनका अनुसार कार्यालयको कार्यक्षेत्रभित्र पर्ने माथिल्लो कर्णालीअन्तर्गत जुम्ला, कालिकोट र मुगुका गरी २५ हजार करदाता संख्या बढेका छन् । १३ हजार व्यवसायी प्यानमा दर्ता भएका छन् भने  करिब १२ हजार व्यक्तिगतरुपमा प्यानमा दर्ता भएका आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

साउनमा चार करोड ५५ लाख राजस्व संकलन 
आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको पहिलो महिनामा चार करोड ५५ लाख रूपैयाँ राजस्व संकलन भएको जनाएको छ। साउनमा तीन करोड ८६ लाख रूपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा राजस्व असुली चार करोड ५५ लाख रूपैयाँ पुगेको कार्यालयका सूचना अधिकारी उपाध्यायले जानकारी दिए।

प्रकाशित: Aug 20, 2023| 21:41 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्