काठमाडौं- प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ। दोस्रो अधिवेशनको ४९औं बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो एक बजे बैठक सुरु हुने भएको छ।
बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्।
सभामुख घिमिरेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्। यस्तै, उनले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ।
बैठकमा सभामुख घिमिरेले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको जानकारी गराउनेछन्। उनले सांसद सुनीलकुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी पनि गराउनेलगायत सम्भावित कार्यसूची छन्।
यी अधिकांश सम्भावित कार्यसूची यसअघिकै बैठकका लागि तय गरिएको थियो। तर, लगातार अवरुद्ध गरिँदा बैठकका काम–कारबाही प्रभावित हुँदै आएको छ।