भारतको एडटेक कम्पनी अनएकेडेमीले 'पढेलेखेका उम्मेदवारलाई भोट दिनुपर्छ' भनेर आफ्ना विद्यार्थीलाई सिकाएको आरोपमा एक शिक्षकलाई बर्खास्त गरेको छ।
करण सांगवान नामका ती शिक्षकलाई जागिरबाट हटाइएको जानकारी दिँदै अनएकेडेमीका सहसंस्थापक रोमन सैनीले कम्पनीको आचार संहिता उल्लंघन गरेका कारण उनलाई हटाइएको बताएका छन्। पढेलेखेका नेतालाई भोट दिनुपर्छ भनेको भिडियो बाहिर आएपछि करण सांगवान ट्विटर ट्रेन्डिङमा आएका छन्। थुप्रै मानिसले करणको भनाइको पक्ष-विपक्षमा धारणा राखिरहेका छन्।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समेत यसबारे ट्विट गरेका छन्। 'पढेलेखेका मानिसलाई भोट दिनुपर्छ भन्नु अपराध हो? कोही अनपढ छ भने व्यक्तिगत रुपमा म उनको सम्मान गर्छु तर जनप्रतिनिधि अनपढ हुनु हुँदैन,' उनले भनेका छन्।