झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेर संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन्। झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताएका हुन्।
'जनताका धेरै कुरा उठाउनुछ,' उनले भने, 'चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ। अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन।'
यसअघि संसद्मा सभामुख घिमिरेले आफूलाई बोल्न नदिएको भन्दै संसद्लाई हाइज्याक गराएको आरोप लगाएका थिए। उनको आरोपपछि नेकपा एमाले नेताहरु रविविरुद्ध खनिएका थिए। यसअघि उनले एमाले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको र सत्तापक्षसँग भागबण्डामा लागेको बताउँदै आफू नै प्रमुख प्रतिपक्षी भएको दाबी गरेका थिए।
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै युवामा हराएर गएको टिप्पणी गरे।
सभामा पार्टीका केन्द्रीय महामन्त्री डा मुकुल ढकाल, सङ्घीय संसद्का प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाइलगायतका केन्द्रीय नेताहरुले सबोधन गर्नुभएको थियो । सभापति लामिछानेले झापामा दुई दिनमा आठ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।