काठमाडौं– तीन सातादेखि संसद् बैठक अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच बालुवाटार निवासमा छलफल भएको छ।
आज बिहान ९ बजे भएको छलफलमा सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई संसद् अवरोध खुलाउन राजनीतिक दलबीच सहमति हुनुपर्ने बताएका थिए। संसद् अवरोधले विभिन्न विधेयक पारित र प्राकृतिक विपत्तिबारेमा पनि सांसदले आफ्ना आवाज राख्न नपाएको गुनासो गरे।
‘संसद् अवरुद्ध हुँदा बैठकमा जनताका गुनासा व्यक्त गर्न पाइएन भन्दै माननीयले मलाई भनिरहनु भएको छ। सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन। सदन खुलाउन सत्तापक्ष र प्रतिपक्ष सहमतिमा आउनुप¥यो’, सभामुख घिमिरेले भने।
शीर्ष नेताहरू घन्टौं बस्दा पनि सहमति ननिकाल्दा संसद् प्रभावकारी बनाउन नसकिएको सभामुखले प्रधानमन्त्री प्रचण्डलाई बताएको प्रेस सल्लाहकार शेखर अधिकारीले बताए।
प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग कुराकानी गरेर संसद् अवरोधलाई हटाउन पहल गर्ने जानकारी सभामुख घिमिरेलाई दिएको बताइएको छ। ‘म पनि सदन खुलाउन भूमिका खेल्छु। तपाईं पनि लाग्नुस्। छिट्टै सहमति गर्नैपर्छ। म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु,’ प्रधानमन्त्री प्रचण्डले भने।
एमालेले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भई बाहिरिएको एक क्विन्टल सुन (हाल ६० केजी) प्रकरणलाई लिएर १० साउनदेखि सदन अवरुद्ध गर्दै आएको छ। सरकारले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन नगरुन्जेल संसद् अवरोध जारी रहने एमालेले बताएको छ। तर सरकारले संसद् खुलाउन एमालेले राखेको माग पूरा गर्न नसकिने बताउँदै आएको छ। सोही कारण संसद् बैठक अवरुद्ध हुँदै आएको छ।