काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २१ माओवादी छापामारलाई गोली हानेर मारिएको स्थल रामेछापको दोरम्बा पुगेर उनीहरुप्रति श्रद्धा व्यक्त गरेका छन्।
प्रचण्डकै नेतृत्वमा हिंसात्मक गतिविधि भइरहेका बेला नेकपा माओवादीले २०६० मा तत्कालीन सरकारसँग युद्धविराम गरिरहेको समय दोरम्बामा आजकै दिन सेनाले २१ माओवादी छापामारलाई गोली हानेर हत्या गरेको थियो। प्रधानमन्त्री प्रचण्ड दोरम्बा स्मृति दिवस र पार्टीका गतिविधिमा सरिक हुन रामेछाप पुगेका हुन्।
युद्धविराम उल्लंघन गर्दै तल्कालीन जिल्ला जनसरकार प्रमुख बाबुराम लामासहित २१ माओवादी छापामार मारिएको सम्झनामा माओवादीले दोरम्बा स्मृति दिवस मनाउँदै आएको छ।
प्रधानमन्त्री प्रचण्डले नेकपा माओवादी केन्द्र दोरम्बा थैलड गाउँपालिका संगठन समितिले आयोजना गरेको २०औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रदाञ्जली सभालाई सम्बोधन गरेका छन्। प्रचण्डसँगै उपमहासचिव जनार्दन शर्मा र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि दोरम्बा पुगेका छन्।