काठमाडौं– एमालेले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँचबुँदे मापदण्ड बनाएको छ।
एमालेको २९ साउनको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने पार्टी उपमहासचिव विष्णु रिमालले जानकारी दिए।
पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन कमिटी तथा जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य नेताका तस्बिर प्रयोग नगर्ने, मञ्च प्रयोग वक्ताले मात्र गर्ने, अतिथि तथा वक्तालाई दर्शकदीर्घामै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउने र कार्यक्रमको अन्तिमसम्म आसन ग्रहण गराइने परम्परा अन्त्य गर्ने मापदण्ड बनाइएको छ।
यस्तै, कार्यक्रममा ब्याच, माला र खाँदाको अनावश्यक प्रयोग नगर्ने तथा कार्यक्रमलाई भड्किलो नबनाउने एमालेको निर्णय छ।