काठमाडौं– कांग्रेसले सरकारबाहिर हुँदा कहिल्यै संसद् अवरोध नगरे पनि एमालेले सत्ताबाट हट्नासाथ संसद्लाई गतिहीन बनाउने प्रयत्न गर्दै आएको अर्थमन्त्री डा. प्रकाशशरण महतले आरोप लगाएका छन्। एमालेले बखेडा झिकेर संसद्लाई प्रभावहीन बनाउने काम गरिरहेको उनको दाबी छ।
आज जनकपुरधाममा कांग्रेस निकट नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले एमालेबाट भइरहेको अनावश्यक संसद् अवरोधले महत्त्वपूर्ण विधेयक ओझेल परेको बताए।
उनले संघीय कानुन, संसद् र कार्यपालिका चुस्त बनाएर प्राप्त उपलब्धि बचाउने जिम्मेवारी प्रतिपक्षीको पनि रहेकाले संसद् अवरोध छाडेर सहमतिमा आउनले एमालेलाई आग्रह गरे। अर्थमन्त्री महतले अर्थतन्त्रले अब गति लिइरहेको र राष्ट्र बैंकले समेत ब्याज घटाउँदै गइरहेको बताए।