मंगलबार, वैशाख २९, २०८३

१२ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि सडक आयोजनाबाट नयाँ अभ्यासको प्रयोग।
 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

म्याग्दी– मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा अवरुद्ध सडक १२ दिनपछि सञ्चालनमा आएको छ।

National life

सडक माथिबाट पहिरो खसेका कारण बैसरी अँधेरीखोलामा अवरुद्ध भएको ७६ किलोमिटर दूरीको उक्त सडक आज बिहान १० बजेदेखि सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जानकारी दिएको हो।

आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले  पानी व्यवस्थापनका साथै थुप्रिएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको बताए। ‘सडक खुलेपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्’, उनले भने, ‘मौसममा सुधार आएपछि सडक मर्मत र पहिरो पन्छाउने काम गर्न सकियो।’ 

डोजरको सहायताले छरिएको पानीको स्रोतलाई एकीतृत गरी खोला बगाएर झारिएको बेनी जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए। उनले भने,  ‘करिब दुई सय मिटर लामो पहिरो यसरी नै बगायो। माटो जति पानीले बगाउने र खस्न सक्ने ढुंगा डोजर लगाएर खसालेका छौं। अडिन सक्नेलाई चलाएको छैन। गेगर बगाएपछि पहिरो खस्ने ठाउँमा चट्टान भेटिएको छ।’

भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले नयाँ अभ्यास गरेको उनले जानकारी दिए। पहिरो व्यवस्थापन गर्न प्रयोग भएको खोल्साको पानीलाई पाइपमार्फत सुरक्षित रुपमा खोल्साबाट बगाइएको छ। पहिरो पन्छाउन २८ देखि ३२ साउनसम्म बेनी–जोमसोम सडकको घुमाउनेताल–बेगखोला खण्डमा पूर्ण रुपमा यातायात बन्द गरिएको थियो।

बैसरीको पहिरोले सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आउजाउमा समस्या भएको थियो। बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग१ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा पहिरोमा परेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते भएका थिए।

पहिरोले पुरेको जिप निकालिएको छ। सवारीधनीसमेत रहेका शेरपुञ्जाको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।–रासस

प्रकाशित: Aug 16, 2023| 12:33 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्