काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड परियोजना (बीआरआई) अन्तर्गत केरुङ-किमाथांका ट्रान्समिसन लाइन निर्माणका लागि प्रस्ताव गर्ने तयारी थालेको छ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार बालुवाटारमा पत्रकासँग कुरा गर्दै आफ्नो चीन भ्रमणका नेपालले बीआरआईअन्तर्गत अनुदानमा केरुङ र किमाथांकामा क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणको आग्रह गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।
उनले भने, 'कुनै एउटा ठूलो परियोजनामा सहयोग गर्न सरकारले प्रस्ताव गर्ने तयारी गरेको छ। जसका किमाथांका नजिकै हुने गरी कुनै जलविद्युत् परियोजना बनाउने र त्यसका लागि बीआरआई अन्तर्गतको क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणका लागि आग्रह गर्ने गरी तयारी हुँदैछ।'
यससँगै कृषिमा आधारित लगानी बढाउने लगायतमा विषयमा पनि कुराकानी गर्ने तयारी भइरहेको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन्।
प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर १६ मा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन्। उनले सेप्टेम्बर १९-२० मा अतिकम विकसित राष्ट्रहरुको बैठकको अध्यक्षता गर्नेछन्। सेप्टेम्बर २१ (असोज ४) मा उनी महासभामा सम्बोधन गरेपछि त्यतैबाट चीन प्रस्थान गर्नेछन्।