काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै करिब तीन सातादेखि संसद् अवरोध गरिरहेको छ।
यहीबीच सुन तस्करीमा संलग्न भएको आरोप लगाउँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्ने सांसद पक्राउ परे। उनलाई ७ वर्षअघिको शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लगाइएको छ।
काठमाडौं जिल्ला अदालतको आदेशमा रिहा भएका सांसद शर्माले आफ्नो पक्राउबारे संसद्लाई जानकारी गराए। त्यसलगत्तै नेकपा एमालेले संसद्मा उठेर विरोध गरिरहेको थियो। अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछानेले बोल्नका लागि माग गरे।
सभामुख देवराज घिमिरेले रास्वपा सांसद लामिछाने उठेकोतर्फ ध्यान नै दिएनन्। त्यसपछि रास्वपाका अन्य सांसदहरु पनि उठेर सभापति लामिछानेलाई बोल्न समय माग गर्दै टेबल ठोक्न थाले। उता माओवादी सांसद हितराज पाण्डेले भने सांसद शर्माले बोलेको कुरामा नियमापत्ति जनाइरहेका थिए।
माओवादी सांसदले बोलिसके लगत्तै सभामुखले एमाले सांसद मानवीर राईलाई बोल्न समय दिए। रास्वपा सांसद भने लामिछानेलाई बोल्न दिनुपर्ने भन्दै टेबल ठोकिरहेकै थिए। यसलगत्तै एमाले सांसदहरुले लगातार नाराबाजी गरिरहेपछि सभामुखले संसद् बैठक स्थगित भएको सूचना सुनाए।
यसरी संसद्मा उठेर समय माग गर्दा पनि रास्वपाका सभापतिसमेत रहेका लामिछानेले बोल्न समय पाएनन्। संसद् बैठक स्थगित भएपछि संसद् भवन बाहिर निस्किएर रास्वपा सभापति लामिछानेले सञ्चारमाध्यममार्फत आक्रोश व्यक्त गरे। लामिछानेले भने, 'संसद् हाइज्याक भयो। सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न सकिएको छैन।'
रास्वपाका अर्का सांसद विराजभक्त श्रेष्ठले संसद्मा प्रतिपक्षलाई बोल्न नदिएर विभेद गरिएको आरोप लगाएन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई अपहरण गरिएको बताए।
सोमबार बसेको संसद्मा पनि सत्तापक्ष र प्रमुख प्रतिपक्ष एमालेको जुहारीका कारण अवरोध भएपछि रविले यस्तो बताएका हुन्। तीन सातादेखि संसद्मा अवरोध जारी रहँदा रास्वपाले सत्तारुढ र प्रतिपक्षी एमालेको पनि विरोध गर्दै आएको छ।
गत साउन ३ गते बरामद भएको सय केजी सुन प्रकरणमा एमालेले उच्चस्तरीय समिति बनाउन माग गर्दै आएको छ। तर सत्ता पक्षले केन्द्रीय अनुसन्धान ब्यूरोले नै अनुसन्धान गरिरहेकाले त्यो सम्भव नहुने बताएपछि एमालेले संसद् खुलाउन मानेको छैन।