शुक्रबार, साउन २, २०८२

सांसद शर्माले दोहोर्‍याए संसद्‍‍मै आमरण अनशन बस्ने घोषणा

 |  सोमबार, साउन २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए संसद्‍मै आमरण अनशन बस्ने घोषणा गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकको सुरुमै बोल्ने समय पाएका शर्माले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठलाई आतंककारीको नेतृत्व गरेको आरोप लगाए।

गृहमन्त्रीले राजीनामा नदिए संसद्‍मै आमरण अनसन बस्ने चेतावनी उनले दिए। यसअघि गत साउन १० गतेको संसद् बैठकमा पनि उनले आमरण अनशन बस्ने घोषणा गरेका थिए। बैठकको आकस्मिक समयमा उनले सय किलो सुन तस्करी प्रकरणमा संलग्न अभियुक्तहरु पक्राउ नपरे अनशन बस्ने चेतावनी दिएका थिए।

'मुख्य नाइकेहरु भाग्छन् र दुईजना मन्त्रीहरु अर्थमन्त्री र गृहमन्त्री फेरि त्यही बिचरा भुजेललाई समातेर मुख्य नाइके नपक्री बस्छु भनेर सोच्नुभएको छ भने म यो सदनबाट घोषणा गर्न चाहन्छु- प्रधानमन्त्रीको आगमनपछि उहाँहरुले दिएको समयभित्र यदि भरियामात्रै समातियो भने यो सदनभित्र आमरण अनशन बस्ने घोषणा गर्न चाहन्छु,' शर्माले भनेका थिए।

सांसद शर्माले अर्थमन्त्री र गृहमन्त्रीले नैतिक अधिकार गुमाइसकेको पनि बताएका थिए। उनले डा. रामशरण महतको विदेशमा खाता भएको आरोप लाग्दा राजीनामा दिएको स्मरण गर्दै सुन तस्करीको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएका थिए।

'मुख्य नाइके अनुसन्धानको प्रक्रियामा सहज बनाइदिन अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ। दुई जना मन्त्रीले हामीलाई थाहा छैन भन्न पाउनुहुन्न,' उनले भनेका थिए। त्यसअघि सांसद शर्माले कांग्रेस केन्द्रीय समिति बैठकमा पनि गृहमन्त्रीको राजीनामा मागेका थिए।

प्रकाशित: Aug 14, 2023| 15:29 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्