काठमाडौं– पूर्वनिर्धारित युरोपका विभिन्न देश भ्रमण कार्यक्रम छोट्याएर स्वदेश फर्किएका सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारले आफूमाथि लागेको ललिता निवास प्रकरणबारे सफाइ दिएका छन्।
आज बिहान त्रिभुवन विमानस्थलमा ओर्लिएका नेता नेपालले आफूलाई विदेश भाग्यो भनेर हल्ला फिँजाइएकाले भ्रमण छोट्याएर र ललिता निवास प्रकरणको अनुसन्धानमा स्वदेश फर्किएको बताएका हुन्।
‘केहीले माधव नेपाल भागे, लुकेर बसेका छन्। नेपाल फर्किने उनको योजना छैन, हिम्मत पनि छैन भनिसकेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएको हुँ’, उनले भने। दुई/तीन दिनअघि नै स्वदेश आउन खोजे पनि जहाजको टिकट भनेका बेला नपाएपछि अलिकति ढिलाइ भएको उनको भनाइ छ।
‘विदेशमा रहेका साथीहरूले कार्यक्रममा बस्न नपाएपछि चित्त दुखाए। ललिता निवास प्रकरणमा विभिन्न सञ्चार माध्यमले लेखिरहेका छन्। पटक–पटक समाचार आएपछि स्वदेश फर्किएँ। केही बिराएको छैन, बदमासी गरेको छैन। कुनै अपराध गरेको छैन। अलिअलि चित्त दुखेको छ’, उनले भने।
ललिता निवास प्रकरणको छानबिनमा सक्दो सहयोग गर्ने नेता नेपालले प्रतिबद्धता जनाए। ललिता निवास प्रकरणको नीतिगत निर्णयमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पूर्वप्रधानमन्त्री नेपाल र बाबुराम भट्टराई अनुसन्धानको घेरामा तानिएका छन्।