शुक्रबार, साउन २, २०८२

कागबेनी बाढी अपडेटः २० घर बगायो, पूरै बस्ती बगरमा परिणत

कागबेनीमा बाढीले वितन्डा मच्याएपछि क्षति विवरण संकलन थालियो।
 |  सोमबार, साउन २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

vianetvianet

बेनी–हिमाल पारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले निम्त्याएको क्षतिको विवरण संकलन सुरु गरिएको छ।

गए राती अविरल वर्षासँगै कागखोलामा आएको बाढीले कागबेनीमा रहेको प्रहरी चौकी भवनसहित २० घर बगाएको थियो। मुक्तिनाथ हुँदै झर्ने कागखोला पहिरोका कारण थुनिएपछि आएको बाढीले वितन्डा मच्याउँदा कागबेनीमा ठूलो भौतिक क्षति भएको हो।

प्रहरीका अनुसार अहिलेसम्म ३६ घरमा बाढीले क्षति पुगेको प्रारम्भिक अनुमान छ। प्रहरी, जनप्रतिनिधि र स्थानीयले बिहानैदेखि बाढीको क्षतिको विवरण संकलन सुरु गरेका छन्। 

अविरल वर्षासँगै आएको खोलाको बाढीले स्थानीयको घर, पसल, होटल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। कागबेनीमै आएर कालीगण्डकीमा मिसिएको कागखोलामा आएको बाढीले पवित्र धार्मिक स्थल कागबेनीधाममा रहेका धर्मशाला, मन्दिरसमेत बगाएको छ। 

बाढीले कागबेनीमा रहेको एनएमबी बैंक रहेको घर र जनशान्ति माध्यमिक विद्यालयमा आंशिक क्षति पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङले जानकारी दिए। 

‘रातमा बाढी आएपछि भागदौड गरेर स्थानीय ज्यान जोगाउन सफल भए, बाढीको वितन्डाले पूरै कागबेनीको जनजीवन अस्तव्यस्त बनेको छ। क्षतिको विवरण संकलन भइरहेको छ। घरबारबिहीनको आपतकालीन बसोबासका लागि पहल गरेका छौं’, अध्यक्ष गुरुङले भने। बाढीले घरबारविहीन भएकाको आपतकालीन बसोबासको व्यवस्था मिलाउनसमेत गाउँपालिका र जिल्ला सुरक्षा समितिले आवश्यक तयारी अगाडि बढाएका छन्।

बाढीले घर बगाएर बस्तीलाई बगरमा परिणत गरेको छ। त्यसैगरी बाढीले कागबेनी गाउँभित्र रहेका अस्थायी काठेपुल र जोमसोम—कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुलसमेत बगाएको छ। पुल बगाएसँगै उपल्लो मुस्ताङको सिधा सवारी सम्पर्कविच्छेद भएको छ। 

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको थियो। गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राती ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुगेको छ।

बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ। मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीच भागमा पर्छ। प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएको बताए। कागबेनी हँुदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ।–रासस

प्रकाशित: Aug 14, 2023| 12:23 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्