काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका छन्। पार्टी मुख्यालय च्यासलमा आज आयोजित 'विशेष पत्रकार सम्मेलन' पछि सञ्चारकर्मीहरुका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अयोग्य भएको भन्दै अफ्ठ्यारो मानेर आफैंले राजीनामा दिनुपर्ने बताए।
उनले भने, 'प्रधानमन्त्री पनि यति अयोग्य, यति नालायक, यति भ्रष्ट सरकारको ! यस्तो भ्रष्टताको चाङमाथि उभिएर म नेतृत्व गर्छु भन्न अफ्ठ्यारो हुनुपर्ने हो। उहाँले आफैंले राजीनामा गर्नुपर्ने हो। गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नगरेर कसरी बस्ने सकेको? आठौं कि नवौं आश्चर्य भन्नुपर्छ यसलाई। यो ठूलो आश्चर्य हो।'
जिम्मेवारी बहन नगरेर मन्त्री भएर राष्ट्रिय झण्डा हल्लाएर हिँड्न गृहमन्त्रीलाई अफ्ठ्यारो लाग्नुपर्ने उनको भनाइ छ। सुन तस्करी प्रकरण महातस्करी प्रकरण भएको समेत ओलीले बताए। जुत्ता ल्याउँदा, चुरोट ल्याउँदा पनि सुन आएकोले आफूहरु बोल्न खोज्दा सत्ता पक्षले सदनमा बोल्न नदिएको उनले आरोप लगाए।
अध्यक्ष ओलीले गृहमन्त्री राजीनामा दिनबाहेक संसद्को रोष्ट्रममा जानु अनौठो भएको बताए। सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर आयोजित पत्रकार सम्मेलनमा उनले विमानस्थलबाट जे आयो सबै सुन हुने गरेको टिप्पणी गरे। उनले भने, ‘एउटामात्रै माध्यमबाट क्विन्टलका क्विन्टल सुन ल्याएको छ। यस्तो कम्पनी कसरी आएको छ? त्यसको मान्छेलाई नागरिकता कसले दियो? त्यो सिफारिसको प्रतिवेदन कहाँ छ? त्यो गायब छ।’
उनले एमालेलाई सरकारमा कुनै रुचि नभएको उल्लेख गर्दै देशको रुचि भएको बताए। देशको अर्थतन्त्र सरकारकै कारणले ध्वस्त भएको आरोप उनले लगाए।