काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सत्ताको मोह नरहेको बताएका छन्।
पार्टी कार्यालय च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले एमालेले हेरेको छैन भनेर सरकारले जे गर्न पनि नपाउने बताए। 'एमालेलाई अहिले सत्ता मोह, सत्ता लोलुप्ता छैन। सत्तातिर हामीले हेरेका छैनौं, हामीलाई हेर्नु पनि छैन। तर, यसको अर्थ सरकारले ढुक्कै रहेछ जे पनि गरे हुन्छ भन्ने चल्दैन। जे पनि गर्न पाउँदैन,' उनले भने।
ओलीले संसद् बैठक अवरुद्ध गर्न नहुने बताए। उनले संसद् अवरुद्ध गर्ने परिस्थिति पनि बनाउन नहुनेमा जोड दिए। 'संसद् अवरोध गर्नै हुँदैन। संसद् अवरोध गर्ने परिस्थिति ल्याउनै हुँदैन। संसद् देश र जनताका लागि काम गर्ने थलो हो। देश र जनताको काम निर्बाध ढंगले गर्नुपर्छ,' उनले भने। उनले संसद् निदाएर, सुतेर बस्ने ठाउँ नभएको बताए। आफूहरू संसद् चलाउने पक्षमा रहेको तर सत्तापक्ष उठेर होहल्ला गर्ने गरेको उनको भनाइ छ।
'हामी संसद् चलाउन खोजिरहेका छौं। तर, प्रतिपक्ष बोल्न उठ्नेबित्तिकै सत्तापक्ष जर्याकजुरुक उठेर होहल्ला गर्ने, संसद्मा व्यवधान खडा गर्ने। बोल्न पनि नदिने,' उनले भने।
ओलीले एक क्विन्टल सुन प्रकरणमा सरकारले टुप्पोटुप्पोमा मात्र हेरेको आरोप लगाए। उनले सरकारले सुन प्रकणमा गहिरो गरी छानबिन गर्न नचाहेको बताए।
अध्यक्ष ओलीले निश्पक्ष छानबिन आयोग गर्न किन नहुने भन्दै प्रश्नसमेत गरे। साथै उनले तस्करीको सुनमा सरकारको संलग्नता नभए किन आयोग बनाउन तर्सिएको भन्दै प्रश्न गरे। ‘सरकारको अयोग्यता, नालायकिपन वा लाचारी के हो? सुन तस्करीमा सरकारको संलग्नता छैन भने किन तर्सिन्छ? हामीले आफ्ना कार्यकर्ता राखेर होइन, न्यायिक छानबिन भनेका छौं’, पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीको भनाइ छ। बहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने ओलीको माग छ।
‘एसपीको नेतृत्वमा छानबिन गर्दा एसएसपीले यसो नगर्नु भनेपछि गर्न सक्दैन। गोल्डेन टच पो भयो यो त। ब्रेक सु छोयो अर्को छोयो सुन भन्सारबाट जे ल्याउँदा पनि सुन यस्तो अवस्थामा देश छ’, ओलीको भनाइ छ। उनले थपे, 'एक दिनमा एउटा नाकाबाट सय किलो सुन पास भइरहेको छ। अनि यो कुराको चुस्की लिने विषय र पार्टीगत पक्षधरताको कुरा हो? तसर्थ संसद् अवरोध हामीले गरेको होइन। राजश्व किन उठ्दैन? भन्सारबाट कारोबार नै हुँदैन अन्तैबाट कारोबार भइरहेको छ।’ उनले चुरोट भनेर ल्याउने त्यो सुन हुने गरेको भन्दै कांग्रेस सांसद सुनिल शर्माले बोल्दा उनलाई नै पक्राउ गरेर मुख थुन्ने प्रयास गरिएको आरोप लगाए।
अध्यक्ष ओलीले ३३ किलो सुन प्रकरणमा भएको अनुसन्धानमा सरकारलाई चित्त नबुझे थप छानबिन गर्न सक्ने बताए। एमाले नेतृत्वको सरकार बन्नुभन्दा पहिला नै ३३ किलो सुन आएको उनले बताए। ‘हाम्रो सरकार बन्नुभन्दा अघि उताबाट सुन आउने र उता जाने भएको रहेछ। हामीले छानबिन समिति बनायौं, तर सुन भेटिएन। केही मानिस पक्राउ परेका छन् र उनीहरूमाथि कारबाही पनि भइरहेको छ,’ उनले भने, 'सरकारलाई चित्त बुझेको छैन भने अझै त्यस विषयमा थप छानबिन गरोस्।’