आइतबार, वैशाख २७, २०८३

समाजवादीलाई राखेपमा समावेश नगरे सरकारमा छोड्ने चेतावनी

 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

काठमाडौं- सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकारले नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकामा असन्तुष्टि व्यक्त गरेका छन्। आफ्नो पार्टीनिकट सो महासंघलाई राखेपमा किन समावेश नगरेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्न समेत गरे।

National life

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महासंघलाई तत्काल राखेपमा समावेश नगरे आफ्नो पार्टी सरकारमा बसिरहन जरुरी नभएको बताए। समाजवादतर्फको यात्रालाई सुनिश्चित गर्ने गरी संगठन विस्तार गर्न खेलकुद क्षेत्रमा आबद्ध पार्टीका नेता–कार्यकर्तालाई उनले निर्देशन पनि दिए।

'हामी सरकारसँग पनि संघर्ष गर्छौँ। अहिले खेलकुद परिषद्मा हाम्रो संगठनलाई समावेश गरिएको छैन। किन नगरिएको हो ? म सरकारसँग प्रश्न गर्न चाहन्छु। यदि, हाम्रो पार्टी पनि सत्तामा छ भने भोलि नै हाम्रो संगठनलाई पनि त्यहाँ संगठित गर्नुपर्‍यो,' उनले भने, 'होइन भने यो सत्तामा बसिरहनु के जरुरी छ हाम्रो पार्टीका लागि ? म यो प्रश्न यो देशका प्रधानमन्त्रीलाई र यो देशका खेलकुदमन्त्रीलाई सोध्न चाहन्छु।'

सम्मानित नेता खनालले सबै खेलाडीलाई उत्साहका साथ खेल क्षेत्रको विकासमा लाग्न आग्रह पनि गरे।

'सबै खेलाडीहरू उत्साह र उमंगका साथ यो क्षेत्रमा लाग्नूस्। र, आफ्नो संगठनलाई विस्तार गर्नूस्,' उनले भने, 'जनतालाई व्यापक रूपले गोलबन्द गर्नूस्। खेल क्षेत्रका सबै विधालाई समेटेर हामी लाग्नुपर्छ।'

प्रकाशित: Aug 12, 2023| 19:45 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्