काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताएका छन्।
आज राष्ट्रिय युवा परिषद्ले २४औं अन्तर्राष्ट्रिय युवा दिवस अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा चितवनमा रहेका प्रधानमन्त्री प्रचण्डले भिडियो सम्बोधनमार्फत यस्तो बताएका हुन्।
युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति रहेको उनको भनाइ छ। साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण प्रमुख धरोहरका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले युवालाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मान्न सकिने औंल्याए।
उनले गुणात्मक र संख्यात्मक दुवै दृष्टिले युवा राष्ट्रका मेरुदण्ड भएकाले सर्वांगीण विकास गरी उनीहरुको क्षमतालाई राष्ट्रिय विकासको मूल धारमा ल्याउन सरकारले राष्ट्रिय युवा नीति, २०७२ जारी गरी लागू गरिसकेको जानकारी दिए। पछिल्लो पटक युवामा राजनीतिप्रति चासो बढ्दै गएको उनको भनाइ थियो। ‘राजनीति देश र जनताको हितमा केन्द्रित गर्नुपर्ने हुन्छ’, उनले भने।
राष्ट्रिय युवा परिषद्ले राजनीतिमा युवा आकर्षणका साथै उत्पादन, रोजगारी र श्रमशीलता तथा आत्मनिर्भरका क्षेत्रमा समेत महत्त्वपूर्ण पहल लिइ बढ्दो पलायन रोक्न ठोस पहल गर्ने प्रधानमन्त्री प्रचण्डले बताए। परिवर्तनको संवाहक मानिने युवा भविष्यको मार्गचित्रसमेत भएको भन्दै उनले समुन्नत राष्ट्र निर्माणमा युवा समूहको अतुलनीय योगदान रहेको दाबी गरे।
युवामा रहेको ज्ञान, सीप दक्षता र अनुभवलाई प्रयोग गरी दिगो विकास लक्ष्य हासिल गर्ने विषयमा युवालाई परिचालन गर्दै समतामूलक र शान्तिपूर्ण समाज निर्माण गर्न केन्द्रित हुने उनले धारणा व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले यसै आर्थिक वर्षलाई सरकारले युवा उद्यमशीलता वर्षका रुपमा मनाउन घोषणा गरेको उल्लेख गर्दै नेपाली युवालाई स्वदेशमै भविष्य देखाउन सहुलियतपूर्ण कर्जा, युवामैत्री लगानी निर्माण, नवप्रवद्र्धन र उद्यमशीलतालाई प्राथमिकतामा राखेको जानकारी दिए।
राष्ट्रिय युवा नीति युवा केन्द्रित कानुन र सरकारले दिएको जिम्मेवारी तथा निर्देशनलाई पालन गर्दै सीमित स्रोत–बाधनका बाबजुद पनि युवा नेतृत्व विकास र युवा नवप्रवद्र्धनलगायत गतिविधिमा परिषद्ले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास’ नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ।