काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसद् अवरुद्ध भएका बेला कुनै पनि सेवा–सुविधा नलिने भएका छन्।
आजको प्रतिनिधिसभा बैठक एमाले अवरोधका कारण स्थगित भएपछि सभापति रवि लामिछानेले संसद् नचलेका बेला कुनै पनि सेवा–सुविधा नलिन व्यवस्था मिलाइदिन सभामुख देवराज घिमिरेलाई आग्रह गरिएको बताएका हुन्।
‘हामीले सभामुखलाई रास्वपाका तर्फबाट संसदीय अभ्यासभित्रै रहेर संसद् निरन्तर चलोस् भनेर सभामुखलाई औपचारिक रूपमा पत्र दर्ता गराएका छौं। संसद् नचलेपछि सांसदले नैतिक रुपमा पनि सेवा–सुविधा लिनुहुन्न भन्ने हाम्रो धारणा हो’, लामिछानेले भने।
एमालेले १० साउनदेखि अवैध सुन बरामद प्रकरणलाई लिएर जनप्रतिनिधि थलो संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको छ। सरकार र प्रतिपक्षीबीच कुरा मिलाएर चाँडोभन्दा चाँडो सदन सुरु गर्न सभामुखसमक्ष आग्रह गरिएको उनले बताए।