नेकपा माओवादीका अध्यक्ष प्रचण्डले परिवर्तनको जस लिने क्रममा आफूलाई नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालासँग जोडिरहन्छन्। पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति कोइराला एक लोकतान्त्रिक दलका नेता थिए। तर उनको व्यवहार र व्यक्तित्व दुवैले नेपाली कांग्रेसभित्र निरंकुशता स्थापना गरेको थियो। अहिले प्रचण्डमा तत्कालिन गिरिजाप्रसाद कोइरालाको व्यवहार र व्यक्तित्व प्रतिबिम्बित भइरहेको छ।
गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेसको सभापति हुँदा उनको व्यवहारबाट रुष्ट हुने धेरै थिए। गिरिजाप्रसादसँगको असन्तुष्टिले कांग्रेसका नेताहरु उकुसमुकुस हुन्थे। गिरिजाको अगाडि असन्तुष्टि जाहेर गर्न भने सक्दैनथे। नेपाली कांग्रेसकै नेताले सुनाएको एक किस्साले गिरिजाप्रसादको व्यवहार र व्यक्तित्वलाई सहीसँग उजागर गर्ला।
ती कांग्रेसी नेताका अनुसार कोइराला सभापति भएको बेला पार्टी कार्यलय आएका नेता-कार्यकर्ताहरुले यस्तो भएन र त्यस्तो भएन भन्ने गर्थे। उनीहरुको असन्तुष्टि पार्टी सभापतिले गरेका निर्णयहरुसँग जोडिएको हुन्थ्यो। पार्टी कार्यालयमा सभापति आएपछि उनको निर्णयको विरोध गर्ने कुरा एकअर्कालाई सुनाउँथे। तर जब गिरिजाप्रसाद पार्टी कार्यालयको बैठक कक्षमा प्रवेश गर्थे, त्यहाँ सन्नाटा छाउँथ्यो। अनि त्यो सन्नाटामा गिरिजाप्रसाद नयाँ निर्णयहरु सुनाउँथे। निर्णय सुनाएपछि कसैको प्रतिकृया बुझ्न खोज्थे। तर कसैले प्रतिकृया जनाउँदैनथे। जब गिरिजा उठेर हिँड्थे, तब नेता कार्यकर्ताबीच पुनः असन्तुष्टि अभिव्यक्त हुन थाल्थ्यो।
एक किसिमले त्यो समय गिरिजाप्रसाद नेपाली कांग्रेसभित्र लुईस चौधौंको स्वरुपमा थिए। लुईस चौधौं सत्रौं शताब्दीका फ्रान्सेली राजा थिए। ‘म नै राज्य हुँ, राज्य नै म हो’ भन्ने उनको उक्तिको अहिले पनि राजनीतिक वृत्तमा चर्चा हुने गर्छ। गिरिजा पनि जसले पार्टीको नेतृत्व सम्हाले, उनीहरुले पनि ईतर पक्षको आवाज खासै सुनेनन्। तर गिरिजाप्रसाद कोइराला नै नेपाली कांग्रेस र नेपाली कांग्रेस भनेकै गिरिजाप्रसाद कोइराला भन्ने स्थिति पनि सृजना भयो। निश्चय नै व्यक्तिगत निर्णय वा हठ बोकेकाबाट धेरै कमजोरी हुन्छन्। गिरिजाप्रसाद कोइरालाको नेतृत्व पार्टी र देश दुवैलाई उति हितकर भएन। यसले उनको छवि पनि धुमिल थियो। तर जीवनको उत्तरार्धमा जनआन्दोलन २ ले उनलाई छवि सुधार्ने मौका मिल्यो।
अहिले माओवादीमा प्रचण्डको रजगज तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको जस्तै छ। भलै उनका कार्यकर्ता उनीबाट थर्कमान देखिँदैनन्। तर अहिले नै प्रचण्डको विकल्प खोज्न माओवादीमा कोही तयार देखिँदैन। साथै माओवादीका नेताहरु प्रचण्डले नै उत्तराधिकारी तथा भावी नेतृत्व तयार गर्नुपर्ने आशय व्यक्त गरिरहेका छन्। यसको अर्थ हो कि प्रचण्ड माओवादीको निर्विकल्प नेतृत्व हुन्। उनको नेतृत्व कहिलेसम्म भन्ने पनि निश्चित छैन। माओवादीभित्र निर्विकल्प स्थापित प्रचण्ड नेपाली जनताको ठूलो हिस्साले पत्याएका नेता थिए। परिणाम- कुनै समय उनको दल देशकै ठूलो राजनीतिक दल थियो। तर प्रचण्ड पार्टीभित्र निर्विकल्प हुँदै जादा जनताको आशा र विश्वास भने माओवादीप्रति उड्दै गएको छ। उनी पनि अन्य नेता जस्तै दलाल, व्यापारी र गिरोहको घेराबन्दीमा पर्दै गएका छन्। साथै अन्य नेताजस्तै उनमा पनि परिवारवाद र सत्ता लिप्साले गहिरो प्रभाव पारिसकेको छ।
प्रचण्डको व्यक्तित्व र व्यवहार उनको दलभित्र अकाट्य र निर्विकल्प छ। तर जनताको नजरमा उनको दलको सामर्थ्य हरेक निर्वाचनमा खस्किँदै गएको छ। उनी स्वयंको छवि पनि धुमिल हुँदै गएको छ।
हालसालै प्रचण्ड सरकारले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको विषयको आलोचना भएको छ। ल्हारक्याल नेपालको तीन ठूला दल एमाले, कांग्रेस र माओवादीलाई प्रभाव पारिसकेका व्यक्ति हुन्। ठूला दललाई प्रभावमा पार्ने यी व्यक्तिको छवि स्वच्छ छैन। तैपनि प्रचण्डले यी व्यक्तिलाई पार्टीमा ठाउँ र सार्वजनिक ओहोदामा नियुक्त दिनुले उनको मनोविज्ञानलाई उजागर गर्छ। अब प्रचण्ड जनताको हित र उन्नति विरलै सोच्छन्। उनी आफ्नो नेता कार्यकर्ताको कुरा पनि बिरलै सोच्छन्। जनताको हक, हितको कुरा गर्छन्, तर उनको प्राथमिकता आफ्ना र आफन्तको हकहित हो, जुन सत्ता र राजनीतिक नियुक्तिसँग जोडिएको छ।
प्रचण्डले युद्धकालका सारथीहरु गुमाएका छन्। उनको दल आफैंमा एक किसिमले छिन्नभिन्न भएको छ। युद्धकालमा जीवन अनिश्चितता र खतराले घेरिएको समय साथ दिएका साथीहरु किन छोडेर गए ? सायद यो प्रश्नले प्रचण्डलाई उति पोल्दैन, जति सत्ता प्राप्तिको लोभले सताउँछ। बेलामौका उनी पूर्व माओवादीहरुको एकताको कुरा उठाउँछन्। तर यो एकताको कुरा पनि कहीँकतै सत्ता प्राप्तिकै मोहसँग जोडिएको छ। परिवारवादमा यसरी जकडिएका छन् कि उनले त्यो भन्दा अरु सोच्नै सकेका छैनन्। प्रचण्डको परिवारवादले पार्टीका बाँकी रहेका कार्यकर्ता पनि सन्तुष्ट छैनन्। यद्यपि प्रचण्डलाई आफ्नो चाहना पूरा गर्नु छ। उनी कुरा सुने जस्तो गर्छन्, तर व्यवहारमा आफूले चाहेकै कुरामात्र लागु गर्छन्। यो आफैंमा तत्कालिन गिरिजाप्रसाद कोइराला प्रवृत्ति हो। एउटा दल तथा लोकतान्त्रिक परिपाटी व्यक्तिको स्वेच्छाचारितामा मौलाउन सक्दैन। प्रचण्ड र माओवादीको नियति पनि यो भन्दा टाढा हुने छैन।
भलै प्रचण्डले रुपान्तरण अभियान चलाउने भनेका छन्। अभियानले जनताको घर घरमा पुग्ने लक्ष्य राखेको छ। हालसालै बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णय हो। तर यो निर्णय व्यवहारमा लागु हुने कुरामा संशय छ। नेकपा माओवादी केन्द्रको यस्ता धेरै निर्णय पहिले पनि निर्णयमै सीमित रहेका छन्। यो निर्णय पनि कार्यकर्ताको असन्तुष्टि थुमथुम्याउने प्रयास हो। रुपान्तरणको लागि त प्रचण्ड स्वयं बदलिनु पर्छ, जुन असम्भवप्राय: छ। समुद्रको विशालतामा पौडिएको माछा पोखरीमा रमाउन सक्दैन। प्रचण्डका लागि सत्ता समुद्र हो। उनको लागि सत्ता बाहिरको जिन्दगी पोखरीझैं साँघुरो हुन जान्छ। यस्तो अवस्थामा रुपान्तरणको लागि प्रचण्डको निर्देशन र माओवादीको निर्णय एक घोषणामै सीमित हुने सम्भावना प्रवल छ।
प्रचण्डको व्यक्तित्व र व्यवहार उनको दलभित्र अकाट्य र निर्विकल्प छ। तर जनताको नजरमा उनको दलको सामर्थ्य हरेक निर्वाचनमा खस्किँदै गएको छ। उनी स्वयंको छवि पनि धुमिल हुँदै गएको छ। उनले शान्ति प्रकृया र परिवर्तनको लागि बारम्बार नाम लिने गिरिजाप्रसाद कोइरालालाई जीवनको उत्तरार्ध छवि सुधार्ने अवसर मिलेको थियो। थाहा छैन, प्रचण्डलाई यो अवसर मिल्ला कि नमिल्ला?