सोमबार, साउन ५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संसद्‍मा नौलो अभ्यास: प्रतिपक्षीलाई काउन्टर दिन सत्तापक्ष पनि विरोधमा

संसद्‍मा नौलो अभ्यास: प्रतिपक्षीलाई काउन्टर दिन सत्तापक्ष पनि विरोधमा

अघिपछि प्रतिपक्षी एमालेले सदन अवरोध गर्नासाथ बैठक स्थगित गर्दै आएका राष्ट्रिय सभाका अध्यक्षले आजको बैठक सत्तापक्षले अवरोध गरेका कारण स्थगन गर्नुपर्‍यो।
 |  शुक्रबार, साउन २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

vianetvianet

काठमाडौं- नेकपा एमालेका सांसदले ३ साउनमा त्रिभुवन विमानस्थलको भन्सारबाट जाँचपास भई बाहिरिएको अवैध एक क्विन्टल सुन प्रकरणलाई लिएर प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक चल्न दिएका छैनन्। सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले १० साउनदेखि सदनका दुवै बैठक अवरोध गर्दै आएको छ।

मुख्य प्रतिपक्षी एमालेले १० साउनदेखि लगातार राष्ट्रिय सभा अवरोध गरेपछि आज शुक्रबारका लागि बोलाइएको बैठकमा भने अनौठो अभ्यास देखियो।

आजको बैठकमा प्रतिपक्षी एमाले सांसदले बैठक अवरोध गरेसँगै सत्तापक्षका सांसदसमेत उठेरै विरोधमा उत्रिए। सत्ता र प्रतिपक्ष दुवैले अवरोध गरेपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ३१ साउनसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगितको घोषणा गरे।

आजको बैठकको सुरुमै राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाले सांसदलाई दलीय आधारमा समसामयिक विषयमा बोल्न समय दिएका थिए। त्यतिबेला सांसदहरुले आ–आफ्नो धारणा राख्नसमेत पाए।

बैठकमा सत्ता, प्रतिपक्षी सबै सांसदले आ–आफ्ना धारणा राख्ने क्रम सकिएपछि सभाध्यक्षले बैठकको कार्यसूची अगाडि बढाउन खोज्दा एमाले सांसदहरु उभिएर विरोध जनाए। एमाले सांसदको विरोधलगत्तै सत्तापक्षीय सांसद पनि उठे र प्रतिरोधको संकेत देखाइदिए।

अध्यक्षले विरोध जनाउनुको कारणबारे एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई समय दिएलगत्तै सत्तापक्षका सांसदहरु पनि उभिएर बैठक अवरोध गरे। दुवै पक्षका सांसद उभिएर विरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडि बढाउन नसकिएको बताएर सभाध्यक्ष तिमिल्सिनाले कार्यसूचीलाई स्थगत गरिएको घोषणा गरे।

अघिपछि प्रतिपक्षी एमाले सांसदले सदन अवरोध गर्नासाथ बैठक स्थगित गर्दै आएका सभाध्यक्ष तिमिल्सिनाले आजको बैठक सत्तापक्षले अवरोध गरेका कारण स्थगन गरे। एमाले सांसदबाट भएको राष्ट्रिय सभा बैठक अवरोधको विरोधमा सत्तापक्षीय सांसदले नाराबाजी गरेपछि आगामी ३१ साउनसम्मलाई स्थगित भएको छ।

एमाले सांसदबाट भएको राष्ट्रिय सभा बैठक अवरोधको विरोधमा सत्तापक्षीय सांसद पनि उभिएका थिए। बैठकको आकस्मिक समयमा सांसदले आ–आफ्ना भनाइ राखेपछि बैठक अवरुद्ध भएको थियो। झन्डै १० मिनेट सत्तापक्ष र प्रतिपक्षका सांसद बैठकमा उभिएपछि अध्यक्ष तिमिल्सिनाले बैठक स्थगित गरेका हुन्।

एमालेले नियमित बैठक अवरोध गरिरहेको अवस्थामा शुक्रबारको बैठकमा सत्ता पक्ष पनि उभिएको हो। राष्ट्रिय सभाध्यक्ष तिमल्सिनाले एमाले सांसदलाई  बोल्ने समय दिएपछि त्यसको विरोधमा सत्ता पक्षका सांसद उभिएको देखियो।

सत्ता र प्रतिपक्ष दुवै उभिएर बैठकमा अवरोध गरेपछि अध्यक्ष तिमल्सिनाले धेरै विधेयक छलफलका लागि थाँती रहेकाले नियमित कारबाही अघि बढाउन आग्रह गरे पनि दुवै पक्ष टसमस भएनन्। अन्ततः सभाध्यक्ष तिमिल्सिना बैठक स्थगन गर्नुपर्ने बाध्यात्मक निर्णयमा पुगे।

दुवै पक्षका सांसद बस्न तयार नभएपछि राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले बैठक उभिएर चलाउनुपर्ने हो भन्दै व्यंग्यसमेत गरेको देखियो। राष्ट्रिय सभा बैठकमा प्रतिपक्षका सांसदले उठेर सदन अवरुद्ध गराएलगत्तै सत्तापक्षका सांसद समेत उठेर विरोध जनाए। बैठकमा एमाले सांसद विमला राई पौडेलले सुन प्रकरणको छानबिनका लागि समिति गठनको माग यथावत रहेको बताउनासाथ सत्तापक्षका सांसदले नाराबाजी गर्दै बोल्न दिएनन्।

प्रतिपक्ष र सत्तापक्षको बैठक अवरोधपछि सभाध्यक्ष तिमिल्सिनाले भने, ‘उठीउठी बैठक चलाउन नयाँ अभ्यास सुरु गर्ने हो कि! जसरी एकसाथ उभिनुभएको छ, त्यसैगरी एकसाथ बसिदिनुस्। म माननीयज्यूलाई आग्रह गर्छु।’
झन्डै १० मिनेट लगातार प्रतिपक्ष दलका सांसदसहित सत्ता पक्षका सांसदसमेत उठेर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले बैठक स्थगित गरे।

राष्ट्रिय सभाको बैठकमा प्रतिपक्षी एमाले सांसदलाई सबक सिकाउन सत्तापक्षीय सांसदले गरेको विरोधको स्वरुप प्रतिनिधि सभामा पनि देखियो। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरु उठिहाले। त्यसपछि सभामुखले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिए। साह बोल्न थालेपछि सत्तापक्षका सांसदहरु पनि उठेर उनलाई 'डिस्टर्ब' गरे।

उनी बोलिरहँदा सत्तापक्षका सांसदहरुले होहल्ला गरिरहेका थिए। ज्वालाकुमारीले बोलेको केही नसुनिएको, नबुझिएको भन्दै सभामुखले बस्न आग्रह गरे। उनी बसिसकेपछि एमालेका सांसदहरुले नाराबाजी सुरु गरे। नाराबाजी नरोकिएपछि सभामुखले बैठक स्थगित गरे।

प्रतिनिधि सभाको बैठक साउन २९ गते सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सांसद रघुजी पन्तले सत्तापक्ष संसदीय मर्यादा विपरीत चलेको आरोप लगाएका छन्।

सभामुखले प्रमुख प्रतिपक्षी दललाई बोल्न दिएपछि सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाएको कुरा संसदीय इतिहासमा विरलै घटना भएको उनले बताए। उनले भने, ‘यो अगाडि र आज पनि संसद् चल्न नदिने कुरामा सत्तापक्ष अगाडि बढेको देखियो। सत्तापक्षको भूमिका खेदजनक छ।’ आफ्नो पार्टीले जनताको एजेण्डामा सरकारलाई ध्यानाकर्षण गराउन लागेको बेलामा सत्तापक्षले बोल्नै नदिएर होहल्ला गरेको उनको भनाइ छ। सरकारको कारणले सदनमा जनताको विषय उठाउन नपाइएको गुनासो उनले गरे।

प्रकाशित: Aug 11, 2023| 13:58 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्