काठमाडौं– लगातार संसद् अवरोध भइरहेका बेला सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन्। आज बिहान सभामुख र राष्ट्रिय सभाध्यक्षले शीतलनिवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।
प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करी प्रकरणलाई उठान गरेर १० साउनदेखि संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको छ। एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको मागलाई अगाडि सारेर लगातार सदन अवरोध गर्दै आएको हो।
राष्ट्रपति पौडेलले सभामुख र राष्ट्रिय सभाध्यक्षसँग सदनको अवरोध खुलाउन भएका पहलबारे जानकारी लिएका छन्।
राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा उपस्थित सबै दललाई विश्वासमा लिएर सदन खुलाउन आवश्यक पहल गर्न सभामुख घिमिरे र राष्ट्रिय सभाध्यक्ष तिमिल्सेनाको ध्यानाकर्षण गराएका थिए।
बिहान १० बजेदेखि आधा घन्टासम्म राष्ट्रपति पौडेलसँग सभामुख र राष्ट्रिय सभाध्यक्षले संसद्मा जारी अवरोधबारे सामूहिक छलफल गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए। एमालेका लगातारको संसद् अवरोध र समयसामयिक विषयमा छलफल गर्न सभामुखद्वय शीतलनिवास पुगेका हुन्।