काठमाडौं– सुन तस्करी प्रकरणमा प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउने सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले दाबी गरेका छन्।
पार्टीले प्रवक्ताको जिम्मा दिएपछि पहिलोपल्ट मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै पूर्वसभामुखसमेत रहेका प्रवक्ता सापकोटाले सुन तस्करीमा संलग्न रहेको छानबिनपछि दोषी प्रमाणित भए कसैलाई पनि नछाडिने बताएका हुन्।
उनले भने, ‘महराको विषयमा बाहिर मिडियामा पनि धेरै समाचार आएका छन्। अवैध सुन प्रकरणमा सरकारले छानबिन गरोस्, सघाउन तयार छु भनेर बाहिर मिडिया र केन्द्रीय समिति बैठकमा पनि महराले भनिसक्नुभएको छ। यदि प्रमाणले पुष्टि भए उहाँमाथि छानबिन हुन्छ।’
सुन प्रकरणलगायत काण्डको छानबिनमा जुनसुकै पार्टीका नेता भए पनि अनुसन्धान अगाडि बढाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अठोट लिएकाले सबैले सघाउनुपर्ने उनको भनाइ छ।
एमालेले गर्दै आएको संसद् अवरोध बार्गेनिङका लागि भएको र सुन प्रकरणमा राज्यका आधिकारिक निकायले छानबिन गरिरहेकाले उच्चस्तरीय छानबिन समिति गठनमा माओवादी अनिच्छुक रहेको उनले बताए।