बिहीबार, साउन ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गौर हत्याकाण्डः पाँचबुँदे सहमतिपछि झस्कियो जसपा, बाबुरामको आत्मालोचना

गौर हत्याकाण्डः पाँचबुँदे सहमतिपछि झस्कियो जसपा, बाबुरामको आत्मालोचना

२७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्डमा अध्यक्ष उपेन्द्र यादवमाथि औंला ठड्याइएकाले जसपा झस्किएको हो। 
 |  बुधबार, साउन २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २४, २०८०

vianetvianet

काठमाडौं– गत बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएपछि सत्तारुढ जनता समाजवादी पाटी (जसपा) झस्किएको छ। २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्डमा अध्यक्ष उपेन्द्र यादवमाथि औंला ठड्याइएकाले जसपा झस्किएको हो।

सरकारले पीडितसँग गरेको सम्झौतामा घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ। सोही घटनालाई लिएर जसपा कार्यकारिणी समिति सदस्यको बैठक केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्न लागेको नेता मनीष सुमनले बताए।

गौर हत्याकाण्डबारे अनौपचारिक छलफलबाट धारणा बनाउने र आवश्यक परे औपचारिक बैठक राखेर पार्टीको धारणा सार्वजनिक गर्ने तयारीमा जसपा रहेको बताइन्छ।

पछुताए बाबुराम

आफू माओवादी छँदै भएको गौर हत्याकाण्डलाई लिएर नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चाहेर पनि केही गर्न नसकेको बताएका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, ‘शान्ति प्रक्रिया र संविधान निर्माणको विशिष्ट कालखण्डमा हामीले चाहेर पनि गौर हत्याकाण्डबारे केही गर्न नसकेकामा आत्मालोचित छौं।’
सरकारी सहमतिप्रति लक्षित गर्दै डा.भट्टराईले लेखेका छन्, ‘गौर हत्याकाण्डको आन्तरिक र बाह्य जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठीकन यसबारे पीडित आन्दोलकारीलाई पटक–पटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न।’

गौर हत्याकाण्ड राज्यविरुद्धको विद्रोहको क्रममा घटेको घटना नभएको पनि उनले दाबी गरेका छन्। ‘स्मरण रहोस्, यो वीभत्स हत्याकाण्ड कुनै राज्यविरुद्धको विद्रोहको क्रममा घटेको र शान्ति प्रक्रियासँग जोडिएको घटना हैन । यो त मधेसका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकलाई मुक्तिआन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुविचारित ढंगले मच्चाएको नृसंश हत्याकाण्ड थियो,’ भट्टराईले भनेका छन्।

१७ वर्षअघि भएको उक्त हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति गरे पनि त्यसको कार्यान्वयनमा हुनेमा उनको आशंका छ। ‘तिनै वर्चस्वशाली भित्री र बाहिरी शक्तिको टेकोपुँडोमा अडेको यो सरकारको नेतृत्वले पीडितलाई न्याय दिने हिम्मत र हैसियत राख्ला?’ डा.भट्टराइको प्रश्न छ।

यसको जवाफ भविष्यले बताउने उल्लेख गर्दै बाबुरामले भनेका छन्, ‘सत्य र न्यायका पक्षधर शक्तिहरूको दबाब र खबरदारी जारी रहोस्। सत्य र न्यायको जित एक दिन अवश्य हुनेछ।’

प्रकाशित: Aug 09, 2023| 14:56 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्