काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछानेले शीर्ष नेताहरूले आफ्नो स्वार्थका आधारमा जनप्रतिनिधिका आवाज उठाउने थलो संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद लामिछानेले सुन प्रकरणको सम्बन्धमा शीर्ष नेताहरूको बैठक र छलफलले संसद् खोल्ने र अवरोध हुने तय भएको भन्दै आपत्ति जनाए। सांसद लामिछानेले संसद् बैठक चल्ने समय कुनै अमुक दलका नेताहरूको कुरा मिल्ने र नमिल्नेमा सीमित भएको भन्दै आपत्ति जनाएका छन्।
‘सदन चल्ने समय एउटा हो भनिसकेपछि त्यो सदन समयमा चल्नुअघि चाहे रात परोस् चाहे बिहान होस्, देखिएका आवश्यक पर्ने दलका नेताहरु अगाडि नै बैठक बसेर सभामुखज्यूमार्फत आएको सदन चल्ने समयमा किन चल्दैन?,’ सभापति लामिछानेले प्रश्न गर्दै भने।
प्रत्येक दिन सदनमा जनतका प्रतिनिधिहरु आएर घडि हेरेर सदन कहिले खुल्छ भनेर बसिरहेको उनले बताए। ‘तीन जना नेताहरु मिलेर सल्लाह गर्नुपर्ने भए, संसदको समय कहिले सुरु हुन्छ भनेर समय जारी भइसकेपछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुरा मिल्ने, मिल्नुपर्ने कुरा मिलाउने पहिल्यै किन हुँदैन?,’ सांसद् समेत रहेका लामिछानेले भने, ‘हाम्रो आरोपअनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सकिँदैन? सदन चल्ने बेलामा नै किन गरिन्छ?'
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेका सांसदका कारण केही दिनयता संसद् पटक-पटक अवरोध हुँदै आएको थियो। तर, शीर्ष नेताहरूको छलफलपछि एमालेले संसद् खुलाउन सहमत भएको थियो। सांसद लामिछानेले भने प्रमुख दलका शीर्ष नेताहरूबीच 'बार्गेनिङ'का आधारमा संसद् खुलाइएको आरोप लगाएका थिए।
प्रमुख दलका शीर्ष नेताहरूको बैठकले संसद्को तालिका नै फेरिदिने गरेको भन्दै सांसद लामिछानेले आपत्ति जनाएका थिए। 'एकअर्काको अनुहार पनि हेर्न नचाहने शीर्ष नेताहरू भ्रष्टाचारका काण्ड हुँदा किन बैठक बसिरहनुभएको छ?,' लामिछानेले प्रश्न गरे।
यस्तै सुन प्रकरणमा माओवादीका नेता कृष्णबहादुर महरा, उनका छोरा साथै ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्नुपर्ने उनको भनाइ थियो।
सांसद लामिछानेले राज्यका निकायलाई विश्वास गर्न नसकिने भन्दै सुन प्रकरणमा छानबिन समिति आवश्यक रहेको बताएका थिए। यसबीचमा उनले सरकारको अनुसन्धान पूर्ण नभएको संकेत गरेका थिए। सुन समातिए पनि यसका मुख्य दोषीलाई सरकारले उम्काउन खोजेको भन्दै आपत्ति जनाए।