काठमाडौं– कांग्रेस सांसद विश्वप्रकाश शर्माले प्रतिनिधिसभा बैठकमा पछिल्लो समयको अवैध सुन प्रकरणबारे सरकारी निकायबाट भइरहेको छानबिनप्रति शंका नगर्न प्रतिपक्षी एमालेलाई सुझाएका छन्।
कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले प्रतिपक्षी एमालेकै निरन्तर अवरोधका कारण संसद्मा जनताका आवाज राख्न र अवैध सुन प्रकरणबारे बोल्न नपाइएको बताए।
उनले भने, ‘१० दिनदेखि संसद् चलेको भए चिया श्रमिकको आन्दोलनदेखि २ साउनदेखि बढ्ने भनिएको न्यूनतम ज्याला नबढेको विषय श्रममन्त्रीलाई सोध्न सकिन्थ्यो। लम्पीस्किन, डेंगु संक्रमण रोक्न भइरहेका प्रयासबारे कृषिमन्त्री र स्वास्थ्यमन्त्रीलाई पनि प्रश्न गर्न सकिन्थ्यो। एमाले अवरोधका कारण संसद् बैठक बस्न सकेन।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा हालै लुम्बिनी विकास कोष उपाध्यक्षमा नियुक्त गरिएका विवादास्पद ल्याहाकर लामाबारे पनि संसद् चल्न नसक्दा सोध्न नपाइएको बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करी, पछिल्लो समय बरामद एक क्विन्टल सुनलगायत सबै विषय संसद् चलेको भए आवाज उठाएर जनतालाई जानकारी दिन सकिनेमा चल्न नदिएर एमालेले गल्ती गरेको शर्माको दाबी थियो।
सुन प्रकरण छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले गर्दा फरक नपर्ने उनले बताए। सीआईबीप्रति अविश्वास नगर्न उनले एमालेलाई आग्रह गरे। संसद् बैठकमा छलफल गरेर सहमति हुने विषयमा एमालेले अवरोध गरेकाले अब खुलाउने र बन्द गर्ने मिति तोक्न उनले व्यंग्य गरे।