आइतबार, जेठ ६, २०८१

 कहिलेसम्म पहिचानकै खोजी ?

वैज्ञानिक समाज विज्ञान प्रविधिको सहायताले अरू ग्रहहरुमा मानव अस्तित्वको खोजीमा छ। तर नेपाली समाजमा मानवशास्त्रीय अध्ययन पनि राम्ररी हुन सकेको छैन।
 |  बुधबार, साउन २४, २०८०

डा. दीपेन्द्र रोकाया

डा. दीपेन्द्र रोकाया

बुधबार, साउन २४, २०८०

वैज्ञानिक समाज विज्ञान प्रविधिको सहायताले अरू ग्रहहरुमा मानव अस्तित्वको खोजीमा छ। तर नेपाली समाजमा मानवशास्त्रीय अध्ययन पनि राम्ररी हुन सकेको छैन। यसले गर्दा समाजमा पहिचानको सङ्कट अहिलेसम्म देखा पर्ने गरेको छ। ‘म यो समुदायको हुँ’ भन्दा पनि पहिचान दिन गाह्रो मान्ने राज्य व्यवस्था अझै छ। यस विषयमा हुम्लाका ‘जाड’ र ‘व्यासी’ का बारेमा सोधखोज गर्न खोजिएको छ।

triton college

हुम्लाको जडान क्षेत्रका भोट्या लामा र तामाङ थर लेख्ने तथा बिच भागमा बसोबास गरेका व्यासी जनजाति हुन्। जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज भएको तर चार वर्णाश्रम व्यवस्थाभित्र नपर्नेहरु जनजाति  हुन्। जनजाति नेता सुरेस आलेमगरका अनुसार सामान्यतयाः सामूहिक जीवन पद्धति एवं मातृ सत्तात्मक समाजका केही अवशेषहरु विद्यमान रहेको र हालसम्म पनि पिछडिएको अवस्थामा रहेकालाई जनजाति भनिन्छ। आदिवासी जनजाति महासङ्घको वर्गीकरणमा भोट्या समुदाय सीमान्तकृत समूह र व्यासी सुविधा बन्चित समूहमा पर्दछन्।

दरा खोलाको पहिचान  
तिल, हल्जी र जाङका तीन गाउँलाई लिम्याल भन्ने गरिन्छ। लिमी नेपालीकरण गरिएको शब्द हो। भोट्या भाषामा लेमी भन्ने हुन्छ। ‘ले’ को अर्थ दुई खोलाको बीच र ‘मी’ को अर्थ मान्छे भन्ने हुन्छ। शाक्य र लिङ खोलाको बीचमा गुम्बापोक नै लेमीको केन्द्र हो। लेमीबासी त्यस ठाउँलाई छाम्जो भन्दछन्।

ताङ्गिनदेखि केर्मीसम्मका आठ गाउँलाई साठी खोल्या भनिन्छ। सायद यस क्षेत्रमा साठी खोला छन्। याल्बाङदेखि यारीसम्मको सात गाउँलाई सात थपाल्या भनिन्छ। बुराउँस्यादेखि दोजामसम्मका गाउँहरुलाई बार्थपाल्या भन्ने गरिन्छ। विशेष बरगाउँको प्रभावले बर्थपाल्या हुँदै बार्थपाल्या भन्ने गरिएको छ। बराई, रादेउ–फुचा, भुवा–कल्लास र पुमाको चार गाउँलाई चार थपालो भन्ने गरिन्छ। चरिगाउँदेखि नेप्कासम्मका गाउँहरुलाई छविस दरा भन्ने गरिन्छ। दार्म क्षेत्रलाई देउली दरा भनेर चिनिन्छ। गल्बा दरालाई पन्धविस्या भन्ने चलन छ। यस प्रकारले तल्लो क्षेत्रलाई ताँजा मैला दरा भन्ने गरिन्छ। उनापानीदेखि खगालगाउँसम्म स्याँलीपाखा भनिन्छ भने गोप्कादेखि खप्र्याल गाउँसम्मलाई पारी पाखा भन्ने गरिएको छ।

पुरानो हुम्लाको यो पहिचान अहिले राजनैतिक रुपमा एक सङ्घीय निर्वाचन क्षेत्र, दुई प्रदेश र सात पालिकाको रुपमा चिनाउने प्रयास भएको छ। प्रदेश (क) मा सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट पर्दछन् भने प्रदेश (ख) मा नाम्खा, सिमकोट र खार्पुनाथ पर्दछन्।

corrent noodles
Metro Mart

जाड–व्यासीको पहिचान    
पूर्व सांसद छक्कबहादुर लामाले पहिचानको सवालमा आफू यार्सागुम्बा जस्तो भएको बताउँदै आएका छन्। उनले आफु छवाङबाट कसरी छक्कबहादुर भएँ भन्ने कुरा लेख्दै र भन्दै आएका छन्। २०८० वैशाख ३ गते नाम्खा गाउँपालिकाको केन्द्र याल्बाङमा मैले नाम्खावासीसँग प्रश्न गरेको थिए, ‘के भोटका सबै वासिन्दा लामा हुन्?’ केर्मी पुग्दा त्यहाँका शिक्षकहरुले गहिरो गरी चासो व्यक्त गरे। तातोपानी आधारभूत विद्यालयका शिक्षकहरु कुन्साङ, पेमा थार्चेन र फुन्जोकले सोही प्रसङ्ग उठाए। छलफलमा केर्मीका पूर्व वडा अध्यक्ष डाब्ला,  समाजसेवी कालीबहादुर, स्थानीयवाशी सुनाम दोर्जी र उज्ज्वल थपिए।

भोटका सबै नागरिकलाई अहिलेसम्म सबैलाई लामा र कसैकसैलाई तामाङ लेख्न लगाइएको छ। वास्तवमा लामा त गुम्बाको प्राज्ञिक पद हो। छलफलबाट थाहा भयो कि भोट क्षेत्रमा बसेका लामा र तामाङ थर लेख्नेहरुले आफ्नो पहिचान सहितको थर लेखाउन चाहने रहेछन्। तर प्रशासनले त्यो थरलाई मान्यता नदिदा उनीहरु पहिचान पीडित भएका रहेछन्। यसले आत्म सम्मानमा ठेस लागेको रहेछ।

त्यसो भए भोट्या समुदायको थर के हो ? भनी सोधखोज गर्नुपर्ने भयो। नाम्खाका बुद्धिजीवी सूर्य लामाका अनुसार मुचु गाउँमा ठकी, टेवा, दार्वा, ग्याल्ग्युतलगायत छन्। धाँ टोलका अनुसार चाला गाउँमा रावा, ग्यालग्युत,  दार्वा,  टेवा र  छत्याल छन्। थुप्देन ग्याप्चो लामाका अनुसार तुम्कोटमा खुन्दुङ, टेवा, ग्याल्ग्युत र भण्डारी छन्। यस्तै यारी र न्याममा रहेको पाइन्छ।

केर्मीका शिक्षक तथा स्थानीय समाजसेवीहरुले दिएको जानकारी अनुसार याङ्गार गाउँमा टेवा र छत्याल छन्। नाम्खा गाउँपालिकाको केन्द्र याल्बाङमा ग्याल्ग्युत,  टेवा र छत्याल छन्। केर्मी गाउँमा टेवा, दार्वा, लुलुकोज्र्या, रावा, ग्याल्ग्युत, धव, पुयुँ, सेरिङ काप्ताक छन्। च्यादुक गाउँमा टेवा र सेरिङ काप्ताक छन्। गारपारीमा टेवा, दार्वा र पुयुँ छन्। हेप्कामा टेवा, दार्वा र पुयुँ छन्। धिगामा दार्वा, टेवा, ग्याल्ग्युत र पुयुँ छन्। तांगिनमा टिउकेवा, ग्याल्ग्युत र पुयुँ छन्। खगाल गाउँमा ग्याल्ग्युत, टेवा, दार्वा र सेरिङ काप्ताक छन्। खोल्सीमा रावा, फुट्व र पुयुँ छन्।

आफ्नो समुदायको जानकारी टिपोट गरेको देखेर केर्मीका ६० वर्षीय सुनाम दोर्जीले आफु टेवा भएको जानकारी दिए। आफुहरु तिब्बतबाट आएको संस्कारगत जानकारी दिँदै प्रत्येक वर्ष माघ १५ गते मानी खेल्ने गरेको र त्यस समयमा सातुको पोतला दरवार बनाएर पुजा गर्ने गरेको बताए।

नेपाली नागरिकता बनाउँदा तिल र जाङ गाउँकाले लामा तथा हल्जी गाउँवासीले तामाङ लेख्ने गरेका छन्। लिमी वडाका अध्यक्ष पाल्जोर तामाङका अनुसार लेख्नेले के लेख्यो ? केही थाहा छैन। यसले के काम गर्छ ? त्यो पनि थाहा छैन भनेर अनभिज्ञता प्रकट गरे।

सिमकोट गाउँपालिकाका प्रथम अध्यक्ष पदमबहादुर लामा र हिमाली भोट्या लामा मोर्चाका नेता नरजङ लामाका अनुसार बुराँउस्यामा दार्वा,  टेवा,  झेवा,  ख्युङ्वा, तोलाम, लासेल र टोङटोत छन्। तोर्पामा झेवा, ख्युङ्बा¸ खाङसार र पाल छन्। लाङ्दुमा लामा र अमलेखी छन्। हुटिकमा पनि त्यस्तै छ। बरगाउँमा छुवा, डुवा र रोकाया छन्। लिमाटाङ, तुम्लिङ, दोजाम र बैजीबाडा गाउँमा दार्वा,  टेवा,  खन्ज्या,  रोकाया,  कल्याल र छत्याल छन्। उल्लेखित गाउँहरुमा कहीँ कतै ठकुरी र क्षेत्रीका थर हुनुको खास कारण ती थरवालाहरुले भोट क्षेत्रका महिलासँग विहेवारी गरी बस्नु वा टिमा (अवैध सन्तान) जन्माउनुसँग सम्बन्धित छ।

भोट्या बस्तीको नाम नेपाली भाषामा लेख्नेहरुले शुद्ध लेख्न नजानेको देखिन्छ। अहिलेको बुराउस्या (टाङसेट), बरगाउँ (पारखाङ), तोर्पा (तोत्पा), लिमाटाङ (न्वयटाङ) हो। कोष्ठमा लेखिएको नाम चाँहि स्थानीय समुदायले भन्ने गाउँको नाम हो। जडान क्षेत्रका गाउँ ठाउँ तिब्बतको विभिन्न ठाउँबाट आई बसेका बस्तीहरु हुन्। बरगाउल्या तिब्बतको पार्का छ्यु, तोर्प्याल कुगा तोत, लिमाटाङी र दोजामी चाङबाट आएका हुन् भन्ने गरिन्छ।

जसरी केर्मीका कालीबहादुरले आफ्नो थर दार्वा हो भनेर जानकारी दिनुभयो त्यसरी सबैले आफ्नो थर भन्न सकिरहेका छैनन्। जडान क्षेत्रका नेता मध्ये पूर्व सांसद छक्कबहादुरको थर झेवा हो। संविधानसभा सदस्य छिमी दोर्चीको थर तोक्लाम हो। प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुलको थर खाङसार हो। प्रदेश सभा सदस्य जुम्कितको थर ख्युङ्बा हो। नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाको थर दार्वा हो। सिमकोट गाउँपालिका पूर्व अध्यक्ष पदमबहादुरको थर पनि दार्वा हो। हिमाली भोट्या लामा मोर्चाका नेता नरजङको थर तोक्लाम हो।

यस्तै पहिचानको संकट व्यासीहरुमा छ। व्यासी समुदायमा भोट्या समुदायको जस्तो थर पहिचानमा समस्या छैन। तर समाजशास्त्रीय अध्ययन अनुसार उनीहरुलाई व्यासी हुन् भनेर वैधानिकता दिइएको छैन। पहिले व्यासीहरुको छुट्टै भाषा थिया, अहिले लोप भएको छ। जन्मदेखि मृत्युसम्मको आफ्नो छुट्टै संस्कार र संस्कृति छ। ठकुरी, बाहुन, क्षेत्री र दलितले गाली गर्दा व्यासी भने पनि जनगणनामा खस क्षेत्रीमा समावेश गर्ने गरेको पाइएको छ।

यसैले उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट आफू जनजाति भएको बताउँदा पनि आवश्यक सिफारिस पाइरहेका छैनन्। राज्यको नजरमा दार्चुलाका सौका मात्र व्यासी हुन् भन्ने छ। दार्चुलाका व्यासीहरु आफुहरु ‘रङ’ भएको बताउँछन् भने हुम्लाका व्यासीहरुले आफुलाई ‘थपाल्या’ भन्ने गर्दछन्। यो उनीहरुको क्षेत्रगत पहिचानको शब्दावली हो।

हुम्लाका व्यासी गाउँहरुमा सिमकोट गाउँपालिकाको स्याँडा र साँतामा बुढा, रोकाया, बोहरा र ऐडी बस्छन्। चरी गाउँमा बुढा मात्र छन्।  खार्पुनाथ गाउँपालिकाको गोप्कामा ऐडी, बुढा र रोकाया छन्। रायामा रावल र बुढा छन्। दुर्पामा बुढा, ऐडी र रोकाया छन्।

सर्केगाड गाउँपालिकाको भुवा कल्लासमा रोकाया छन्। कुतीमा बुढा छन्। बराइमा रोकाया, बुढाथोकी र ऐडी छन्। रोडिकोट जाब्बारामा बुढा छन्। रादेउमा रोकाया, ऐडी, बुढा र तामाङ छन्। फुचामा ऐडी र बुढा छन्। चंखेली गाउँपालिकाको पुमामा बुढा, ऐडी र रोकाया छन्। चरिगाउँमा बुढा र शिरा छन्। कोर्कामा बुढा छन्। मेल्छाममा बुढा, शिरा र तामाङ छन्। मेखालमा ऐडी, रोकाय र बुढा छन्। नेप्कामा तामाङ छन्। नेप्काका तामाङहरुले आफूलाई कल्याल र बारकोट्या शाही भएको बताउँछन्।

अदानचुली गाउँपालिकाको डाँडा पाल्समा बुढा, कटेल र गुरुङ छन्। बारीगाउँमा ऐडी, रावल र बोहोरा छन्। पाल्समा पुन छन्। पुन मगर हुन्। तर व्यासीसँगै बिहेवारी चलाएर बसेका छन्। लिस्याँमा बुढा छन्। ओखाडीमा बुढा छन्। गोरपाटामा कटेल छन्। हिल्सा रुखमा गुरुङ र बुढा छन्। कोटभिटामा बुढा छन्। डमर्कुमा पुन छन्। यसैगरी ताँजाकोट गाउँपालिकाको पाँदामा रोकाया, बुढा, रावल, बोहोरा, ऐडी, बैजी र स्याङ्कु छन्। शेरीमा रोकाया छन्। भदौरामा रावल, बोहोरा र ऐडी छन्। लोटपाटामा बुढा, बैजी र स्याङ्कु छन्। डप्का, चिही र साँतीमा बुढा मात्र छन्। मासपुरमा बुढा र रोकाया छन्।

भइरहेको पैरवी 
विगतमा आफू सानो हुन नचाहन, सानो बनाएको देख्न नचाहने र अनावश्यक विभेद सहने पनि त होइन जस्ता कुराले पहिचानका मुद्दा ओझेलमा परेको थियो। समाजमा पौरख देखाउनेहरुले जात बढाउन पाएको पनि देखेका छौ। मुख्य कुरा राज्य सत्तासँगको पहुँच हुनु र नहुनुसँग सम्बन्धित छ। अहिले अभिव्यक्ति स्वतन्त्रता पाइएको छ। तर अभिलेखीकरण गर्ने र प्रमाणित गर्नेहरुले पहिचानको मर्म बुझेका छैनन्। समाजशास्त्री डोरबहादुर विष्टले ‘सबै जातको फूलबारी’ त्यतिकै लेखेका होइनन्। सम्झना रहोस्, श्री विष्टले खसबारे लेखेको पूर्ववत् धारणा सच्याउने बेला जुम्लाको चौधविश दरा पुगेर पाप पखाल्न पाएको अनुभूति गरेका थिए। दुःखको कुरा उहाँ त्यहीबाट हराउनु भयो। थप कुरा उजागर हुन पाएन।

हिमाली भोट्या समुदायका लागि भोटे लामा मुक्ति मोर्चा र थपाल्या व्यासी समुदायका लागि थपाल्या व्यासी मुक्ति मोर्चाले समुदायगत हक हितका लागि आवाज उठाइरहेको छ। यस पंतिकारबाट ‘खस व्यासी थपाल्याको नलेखिएको इतिहास’ प्रकाशित हुँदा धेरैले अचम्म मानेका थिए। थपाल्या व्यासी राष्ट्रिय मुक्ति मोर्चा गठन भएपछि हुम्लामा पनि व्यासीहरु छन् भन्ने बोध सबैतिर भयो। आदिवासी जनजाति आयोगमा सूचिकृत गर्न पहल गर्नेदेखि विभिन्न मञ्चमा थपाल्या व्यासी समुदायको हक हितका पक्षमा पैरवी गर्ने काम भईरहेको छ।

अझै पनि भोट क्षेत्रका जाडहरुले निर्बाध रुपमा आफ्नो थर उल्लेख गर्ने वातावरण बनेको छैन। यस्तै आफ्नो पहिचानले वैधानिकता नपाउँदा थपाल्या व्यासीहरुले पाउन सक्ने सेवा सुविधाबाट बन्चित भएका छन्। हुम्लामा जनजाति भनेका लामा मात्र हुन् भन्ने पनि भ्रम छ। वास्तवमा भोट्या समुदाय दुई पालिकाको २१ गाउँमा बसोबास गरिरहेका छन् भने उनीहरुको करिव सात हजार जनसङ्ख्या रहेको छ। यस्तै व्यासीहरु छ गाउँपालिकाको ३८ गाउँमा बसोबास गरिरहेका छन्। उनीहरुको जनसंख्या करिव १६ हजार रहेको छ।

योगी नरहरिनाथका अनुसार कुनै जमानामा कर्नालीको हिमाली क्षेत्रमा वन मान्ठ (मान्छे), पहाडमा कुसुन्डा र तल महाभारत क्षेत्रतिर राउट्याको बसोवास थियो। आज उनीहरुमध्ये एक हुल राउट्या मात्र जीवित छन्। हामी मानव जातिको कुरा गर्नेहरुले सुरुमा पहिचान दिन अभिप्रेरित गर्छौ र गर्नुपर्छ। यसका लागि हरेक क्षेत्रबाट माथि उठाउन समावेशी तथा समानुपातिक प्रतिनिधित्व गराउन लगाउँछौँ। उनीहरु र अरू समुदायको बीचमा समुदायगत भिन्नताकै कारण उचनिच छ भने त्यो व्यवहार मेटाउन चाहन्छौँ। यसैले समुदायले चाहेको पहिचान दिनलाई सम्बन्धित अधिकारीहरु किन अलमल छन्?     - रासस

(लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानका सदस्य हुन्)

प्रकाशित: Aug 09, 2023| 06:22 बुधबार, साउन २४, २०८०
प्रतिक्रिया दिनुहोस्