काठमाडौं– प्रतिपक्ष एमालेले अवैध सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले रोस्ट्रमबाट जवाफ दिने सर्तमा आजका लागि बोलाइएको संसद् बैठक अवरोध नगर्न सहमत भएको छ।
आज संसद् बैठक खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित बसेको तीन दलीय शीर्ष नेतृत्व सम्मिलित बैठक निष्कर्षविहीन हुँदा अन्योल यथावत् थियो।
तर सभामुख घिमिरेको पहलमा तोकिएको समय बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समिति बैठकमा संसद्लाई नियमित कार्यसूचीमा लैजान सबै दल सहमत भएपछि गृहमन्त्री नारायणकाजीले आज बोल्न लागेका हुन्।
संसद् बैठकमा सुरुमा दलीय आधारमा एक–एक सांसदले बोल्ने तय भएको संसद् सचिवालयले जनाएको छ। सांसदले बोलिसकेपछि गृहमन्त्री श्रेष्ठले उनीहरुका प्रश्नको जवाफसहित अवैध सुन प्रकरण सम्बन्धमा हालसम्मका गतिविधिबारे जवाफ दिनेछन्। गृहमन्त्री श्रेष्ठको जवाफ सुनेपछि मात्रै संसद् चल्न दिने÷नदिने निर्णय लिइने एमालेले बताएको छ।