शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध समितिले माग्यो उजुरी

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध समितिले माग्यो उजुरी

संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि पत्र पठाएपछि समितिले सर्वोच्चमा प्रधानन्यायाधीशका लागि सिफारिसमा परेका श्रेष्ठविरुद्ध उजुरी मागेको हो।
 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

काठमाडौं– संघीय प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्बाट सर्वोच्च अदालतमा सिफारिस गरिएका कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ।

संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि पत्र पठाएपछि समितिले सर्वोच्चमा प्रधानन्यायाधीशका लागि सिफारिसमा परेका श्रेष्ठविरुद्ध उजुरी मागेको हो।

समितिको आजको बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठलाई नियुक्त गर्न उपयुक्त भए/नभएको सम्बन्धमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन सार्वजनिक सञ्चार माध्यममार्फत सूचना आह्वान गर्ने निर्णय गरेको छ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको समिति बैठकले सूचना वा उजुरीकर्ताले पत्रमार्फत वा आफैं समिति सचिवालयमा उपस्थिति भई उजुरी दिन सक्ने व्यवस्थासहितको सूचना प्रकाशित गर्ने निर्णय गरेको हो।

तोकिएको समयावधिभित्र उजुरी प्राप्त भए संसदीय समितिले श्रेष्ठलाई उपस्थित गराएर सुनुवाइ गर्नेछ। उनले समितिसमक्ष प्रधानन्यायाधीश भए आफूले अघि बढाउने कार्ययोजना, अनुभव, अवधारणा र सोच प्रस्तुत गर्नेछन्।

सुनुवाइ समितिले नाम अनुमोदन गरे राष्ट्रपति रामचन्द्र पौडेलबाट उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरिनेछ। १७ साउन २०७३ मा सर्वाेच्चको न्यायाधीश बनेका श्रेष्ठ हाल कामु प्रधानन्यायाधीश छन्।

प्रकाशित: Aug 08, 2023| 15:36 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्