काठमाडौं– गत ३ साउनमा त्रिभुवन विमानस्थलको भन्सारबाट जाँचपास भई बाहिरिएको अवैध एक क्विन्टल सुन प्रकरण छानबिनको जिम्मा पाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पहिलोपल्ट आरोपितलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ।
छानबिन सीआईबीको जिम्मामा पुगेपछि काठमाडौं जिल्ला अदालतले सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जनालाई थप सात दिन हिरासतमा राखेर छानबिन गर्न अनुमति दिएको हो।
अवैध सुन प्रकरणमा पक्राउ परेकामाथि सीआईबीले संगठित अपराधमा अनुसन्धान सुरु गरेसँगै राजस्वको हिरासतमा रहेका उनीहरुलाई १९ दिनपछि जिल्ला अदालतमा लगिएको हो।
अवैध एक क्विन्टल सुन बरामद प्रकरणको थप छानबिनको नेतृत्व सीआईबीका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले पाएका छन्। थापा नेतृत्वको टोलीले गत २ साउनमा विमानस्थल भन्सार जाँचपास गराएर बाहिरिएको अवैध एक क्विन्टल सुनबारे थप छानबिन गर्नेछ।
राजस्व अनुसन्धान विभागले आइतबार मात्रै हालसम्म भएका छानबिनबारेका विवरण सीआईबीलाई सुम्पिएको थियो। त्रिभुवन विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएको एक क्विन्टल सुन प्रकरणमा हालसम्म १८ जना समातिए पनि मुख्य कारोबारी पक्राउ पर्न सकेका छैनन्। एक जना भने हाजिरी जमानीमा रिहा भएकी छन्।
‘एसपी थापाको नेतृत्वमा अनुसन्धान सुरु भएको र आवश्यकताअनुसार जनशक्ति परिचालन गरी थप अनुसन्धान हुनेछ’, प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले भने।यसअघि राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दा उच्च अदालत पाटनमा उपस्थित गराइएको थियो। उच्च अदालतले पछिल्लो पटक १५ दिनको म्याद दिए पनि अबदेखि सीआईबीले अनुसन्धान गर्ने बताएर आरोपीलाई जिल्ला अदालत लगिएको हो।
सीआईबीले आफ्नो नियन्त्रणमा रहेका सुन बरामद प्रकरणका आरोपीमाथि संगठित अपराधमा ६० दिन र राजस्व छलीमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाउने कानुनी व्यवस्था छ।