काठमाडौं- सभामुखसहित मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ। बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ।
संघीय संसदका दुवै सदनमा भइरहेको गतिरोध हटाउने विषयमा दलहरुबीच छलफल हुन लागेको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्दै आएको संसद् बैठक सुचारु गर्नका लागि सभामुख देवराज घिमिरेको पहलमा हिजो दुई चरणमा शीर्ष नेता, दलका मुख्य सचेतक, र सचेतकबीच छलफल भए पनि दलहरु आ-आफ्नै अडानमा रहँदा बैठक निष्कर्षविहीन बनेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एक क्विन्टलभन्दा बढी सुन बरामद भएको प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद बैठक चल्न नदिने अडान लिँदै आएको छ।